दार्चुलाका क्वारेन्टाइनमा बिजोग : न खाना न पानी, न ओढ्ने‍ न ओछयाउने

दार्चुला : जिल्लाको ९ वटै स्थानीय तहका क्वारेन्टाइनमा बस्नेको बिजोग छ । जिल्लाका क्वारेन्टाइनमा जम्मा १५ सय ८७ जना रहेका छन् । भारतका विभिन्न ठाउँ र जिल्ला बाहिरबाट आउनेको संख्या ह्वात्तै बढेपछि  क्वारेन्टाइन भरीभराउ भएका छन् ।

नौगाड गाउँपालिकामा २७४ जना, अपिहिमाल गाउँपालिकामा २११ जना, शैल्यशिखर नगरपालिकामा २०९ जना, मालिकार्जुन गाउँपालिकामा २०६ जना, लेकम गाउँपालिकामा २०५ जना, महाकाली नगरपालिकामा १४२ जना, मार्मा गाउँपालिकामा १५८ जना, व्याँस गाउँपालिकामा ९४ जना र दुहुँ गाउँपालिकामा ३९ जना  गरी १५ सय ८७ जना क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र बहादुर कार्कीले बताए ।

जिल्लामा नाममात्रैका क्वारेन्टाइन छन्। भौतिक दूरी कायम गरी बसाइ व्यवस्थापन गर्नुपर्ने मापदण्ड भएपनि त्यो हुन नसकेको महाकाली नगरपालिका ९ का प्रदिप सामन्तले बताए। उनले भने,’ हामीहरु भारतबाट ११ जना आएका छौं, सबैलाई एउटै कोठामा थुनेर राखिएको छ । ओढ्ने,ओछयाउने छैन। त्यस्तै रात काटनुपर्छ। लामखुटेको टोकाइले हैरान पार्छ।’

जिल्लाको मालिकार्जुन गाउँपालिका २ मा पनि भारतबाट आउनेको संख्या निकै बढेको छ । बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा बसेको पनि बुधबार १७ दिन हुन लाग्यो। अहिलेसम्म कुनै स्वास्थ्य परीक्षण भएको छैन।

पालिकालाई परीक्षणबारे खबर गर्दा आलटाल गर्ने गरेको मालिकार्जुन गाउँपालिका २ भद्वाडीका नरेन्द्रसिंह धामीले बताए। उनले भने, ‘ २१ दिन हैन ४२ दिनसम्म क्वारेन्टाइनमा बस्छौँ, तर हाम्रो स्वास्थ्य परीक्षण हुनुपर्‍यो। हाम्रा पनि घरमा बालबालिका छन् ।उनीहरुको स्याहार गर्नुपर्दैन।’

‘मालिकार्जुन गाउँपालिकाले स्वास्थ्य परीक्षण गर्न सक्दैन भने हामी अन्य निकायबाट पनि स्वास्थ्य परीक्षण गराउँछौँ,’अर्का स्थानीय मानसिंह धामीले भने। ‘खाना खाजा पनि नियमित छैन। समयमा खाना खाजाको माग गर्‍यो भने तिम्रो घर हो र यो भनेर उल्टै गाली गर्छन्,’सोही ठाउँका स्थानीय मदनसिंह धामीले बताए ।

उनले भने,’ नामा मात्रका क्वारेन्टाइन रहेछन्, न पानी न खाना , त्यस्तै दिन बिताउनुपर्छ।’

१७ वटा आइसोलेसन बेड   

जिल्लाभरी क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएपछि जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा आइसोलेसन बेडको संख्या समेत थप गरिएको छ ।  जिल्ला अस्पताल दार्चुलामा ७ वटा आइसोलेसन बेड बढाएर १३ पुर्‍याइएको छ भने गोकुलेश्वर अस्पतालमा चारवटा आइसोलेसन बेड निर्माण गरिएका छन्।

जिल्लाभर १७ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताए।  एक सातअघि कोरोना भाइरस संक्रमण देखिएका महाकाली नगरपालिका ५ का युवकको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।उनको दोस्रो पटक कोरोना परीक्षणका लागि स्वाबको नमूना धनगढी पठाइसकेको छ।

प्रजिअ भन्छन् खाद्यको समस्या हुँदैन 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लाका सबै स्थानीय तहको अध्ययन तथा निरीक्षण गरेको बताए । दार्चुलाका क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय तह लागिपरेको उनले बताए।

उनले भने, ‘क्वारेन्टाइन बस्नेहरुले केटाकेटीपना देखाएर गुणस्तरीय भएन भन्नु राम्रो हुँदैन।  व्यवस्थापन हुँदैछ। खाद्यको समस्या पनि छैन, स्थानीय तहले खाद्यको बन्दोबस्त गरिसकेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *