भुल्केमा मुस्लिम समुदायको पैसा चल्न छोडे

उदयपुर । त्रियुगा नगरपालिकाको वडा नम्बर ३ स्थित भुल्केमा मुस्लिम समुदायको पैसा चल्न छोडेको छ । कोरोना भाइरस सर्ने डरले बासिन्दाले सामान किनबेच गर्दा मुस्लिम समुदायको पैसा लिन डराएका हुन् ।

मुलुकमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ पुगेको छ। त्यस मध्ये ९ जनाले कोरोनालाई जितिसकेका छन् । अझै ३९ जना कोरोना विरुद्ध संघर्ष गरिरहेका छन् । त्यस मध्ये २८ जना उदयपुरकै छन् । २८ संक्रमित मध्ये अधिकांश मुस्लिम समुदायका छन् । संक्रमित अधिकांश मुस्लिम भएको कारण त्यो समुदायको पैसा अन्य समुदायले लिन छाडेका हुन् ।

पसल संचालकहरुले मुस्लिम समुदायसँग पैसा लेनदेन नगर्नकै लागि खाद्यन्न समेत दिन छोडेको मुस्लिम टोल सुधार समितिका सचिव मो. अनिस राइनले बताउनु भयो । ‘ कोरोना सर्ने डरले हाम्रो समुदायको पैसा समेत चल्न छोड्यो’ उहाँले भन्नुभयो, ‘पैसा नचल्दा मुस्लिम समुदायकाहरु भोकै बस्नु पर्ने अवस्था छ । भुल्केमा मुस्लिम समुदायका ५६ घर परिवार छन् । उनीहरुको मुख्य पेशा कृषि हो ।’

अनिसका अनुसार अधिकांशको घरमा धान, गहुँ र मकै लगायतका खाद्यान्न प्रयाप्त मात्रामा छ । तर कुटानपिसान गर्न नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था छ । ‘गाउँलेहरुको पसलमा हाम्रो पैसा चल्दैन’ उहाँले भन्नुभयो, ‘गाउँ नै सिलभएपछि हाट बजार जान पाइएको छैन । कसरी बाँच्ने हो खै ?’

मुस्लिम समुदायबाट पैसा लिएर अतिआवश्यक सामग्री ल्याउन स्थानीय प्रशासनलाई आग्रह गरिएको राइनले बताउनु भयो । वडा नम्बर ३ का अवधेशप्रसाद चौधरीले जनप्रतिनिधि भुल्केमा चैत १० गते गएको तर मुस्लिक समुदायका कसैले नलिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *