बिराटनगर :- काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरिरहेको मेलम्चीको आयोजना आगामी आर्थिक वर्षको शुरुमै पूरा गरिने सरकारले जनाएको छ । आगामी आर्थिक वर्षमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको आज जवाफ दिँदै मन्त्री बीना मगरले मेलम्ची आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको बताउँदै आगामी आर्थिक वर्षको शुरुमै मेलम्चीको पानी सुरुङमा परीक्षण गरी उपत्यकामा वितरण गरिने बताएका छन् ।
दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधनका लागि गुह्येश्वरीमा निर्माण गरिएको प्रशोधन केन्द्रको काम सकिएर हाल परीक्षण भइरहेको र बालकुमारी, सल्लाघारी र धोबीघाटमा निर्माण भइरहेको १० करोड लिटर फोहर पानी प्रशोधन केन्द्रलाई पनि छिटो सम्पन्न गरिने पनि मन्त्री मगरले बताएका छन् ।
संसद्मा प्रस्तुत खानेपानी विधेयक चालू अधिवेशनबाटै पारित हुने विश्वास मन्त्रालयको छ ।
आगामी आवका लागि खानेपानी मन्त्रालयअन्तर्गत मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कामसमेत शुरु गर्न रु पाँच अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ । काठमाडौँ उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि रु पाँच अर्ब ८९ करोड बजेट छ ।सुक्खाग्रस्त क्षेत्रमा निर्माणाधीन जलवायु अनुकूलित तथा बृहत् पम्पिङ लिफ्ट र सहलगानीका खानेपानी आयोजना सञ्चालन गर्न रु ६ अर्ब बजेटको व्यवस्था गरिएको छ । खानेपानी मन्त्रालयका लागि रु ४३ अर्ब १० करोड बजेट विनियोजन भएको छ ।
Comments