कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल: काँग्रेस

बिराटनगर:- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा सोमबारको बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारको देखाएको अकर्मण्यताका विरुद्ध उत्रिन पार्टीका सबै पंक्तिलाई निर्देशन दिएको छ ।

सोही अनुसार केन्द्रदेखि सबै जिल्ला कार्यासमितिले पनि सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । केन्द्रीय सदस्य रमेश लेखकका अनुसार बैठकले सरकारको कमजोरी औल्याउँदै आगामी पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले ज्ञापन पत्र बुझाउने छ ।प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको लेखकले जानकारी दिए ।

बैठकमा कोरोना महामारीमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग उठाएको थियो । मंगलबारदेखि संसदमा समेत यस विषयलाई जोडदाररुपमा उठाउने तयारीमा काँग्रेस रहेको छ । कोरोना रोकथामको विषयमा संसदमा सरकारसँग सवाल जवाफमा नीति अख्तियार गरिने केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् ।

संग्रौलाका अनुसार कोरोना महामारीका कारण सडक संघर्ष सम्भव नभएकाले संसदबाट सरकारलाई जवाफदेही बनाउन परिपस्थिति हेरेर संसद अवरोधसम्म जाने विषयका बैठकमा छलफल भएको  छ ।

बैठकमा धारणा राखेका करिब दुई दर्जन केन्द्रीय सदस्यले संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *