भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शकांको दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।

विश्वासबाट काम थालेको र असाधारण ढंगले काम भइरहेकाले उनीहरुको भावनामा ठेस पुग्ने शब्दाबली प्रयोग नगर्न पनि आग्रह गरे । उनले भने, “केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । दिनैपिच्छे लेखापरीक्षण हुँदैन । कामका बेला लेखापरीक्षण तर्फ केन्द्रित पनि भएका छैनौं । यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नुपर्ने पनि छैन । यस्तो परिस्थितिमा तीनीहरु भ्रष्टाचार गर्नै पर्खि बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन । ”

उनले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाइए सरकारले कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउँदै अरुलाई लाञ्छना लगाउने र सधैं अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न आग्रह गरे । उनले कुनै हिसाबले पनि भ्रष्टाचार हुन नदिने आफ्नो प्रतिवद्धतामा आश्वस्त हुने विश्वास आफुले लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *