आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी : सांसद सुरेन्द्र यादव

नवगठित जनता समाजवादी पार्टी (साविकमा समाजवादी पार्टी) का सांसद सुरेन्द्र यादवले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

उजुरी दर्ता गर्न नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै जाहेरी दिएका हुन्। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन जनाविरूद्ध अपहरण तथा शरिर बन्धकमा किटानी जाहेरी दिन लागेको बताए। जाहेरी दिन प्रायः सबै शिर्ष नेताहरू परिसर कार्यालय पुगेका हुन् । खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए।
पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन्।

समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *