‘म्याच फिक्सिङ’ को आरोप लागेका ६ खेलाडीलाई सफाई

बिराटनगर;-‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाई दिने विशेष अदालतको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले एन्फाका खेलाडी, प्रशिक्षक लगायतमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।विशेष अदालतले उनीहरुमाथि राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ को दफा ३ अनुसार राष्ट्र विप्लवको कसुर गरेको नदेखिएको भन्दै सफाई दिएको थियो । अञ्जन केसी, रितेश थापा, सागर थापा, सन्दिप राई, विकास सिंह क्षेत्री र डेजिव थापाले सफाई पाएका हुन् ।

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री र डेजिव थापामाथि राज्यविरुद्धको अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी मुद्दा दायर भएको थियो । आरोप ठहर भएको भए १० वर्षदेखि जन्मकैदको सजाय हुन्थ्यो । विशेषमा अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु प्रमोदकुमार वैद्य श्रेष्ठ र नारायणप्रसाद पोख्रेलको इजलासले आरोपितमाथिको अभियोग पुष्टि हुन नसक्ने ठहर गरेको थियो ।

उनीहरुविरुद्ध सन् २००८ देखि खेलिएका २२ वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेर पैसा लिएको सुराक पाएको दाबीसहित महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो ।

‘हरेक खेलमा नेपाललाई शुन्यले हराउन उनीहरु सहमत भएको देखिएको छ र तदनुसार नेपालले हारेको पनि देखिन्छ’ आरोपपत्रमा भनिएको थियो, ‘एक खेलमा हारेबापत प्रतिखेलाडी ५ हजार अमेरिकी डलरसम्म लिने गरेको बैंक स्टेटमेन्टले देखाएको छ ।’ तत्कालीन महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वको टिमले अनुसन्धान गरेको थियो ।

म्याच फिक्सिङका सम्बन्धमा देशमा कानुन नभए पनि खेलाडीहरुको कसुर अक्षम्य भएकाले राज्य विरुद्धको अपराधमा मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीले तयार पारेको थियो । देशको झन्डा बोकेर ३ करोड नेपालीको प्रतिनिधित्व गर्ने खेलाडीले आफ्नो स्वार्थ पूर्ति गर्न विदेशी संगठित म्याच फिक्सरहरुसँग मिल्नु राज्यविरुद्धको अपराध हुने दाबी आरोपपत्रमा थियो ।

हरेक खेलमा नेपालले हार्दै गएपछि र उनीहरुका गतिविधि शंकास्पद देखिएपछि एसियाली फुटबल महासंघले जाँचबुझ सुरु गरेको थियो । त्यसमा दोषी देखिएपछि महासंघले नेपाल प्रहरीलाई आवश्यक कागजातसहित पत्र पठाएपछि उनीहरुविरुद्ध अनुसन्धान सुरु भएको थियो । सिंगापुरका कुख्यात म्याच फिक्सर टिटानी पेरिआसमी र केसभान पट्टान लगायतसँग मिलेर पैसा लिने गरेको र त्यसबापत उनीहरुले भनेजति गोल खाइदिने गरेको भेटिएको प्रहरी अनुसन्धानमा खुलेको छ । टिटानी र केसभानविरुद्ध मालदोभा प्रहरीले म्याच फिक्सिङको अभियोगमा मुद्दासमेत चलाइसकेको थियो ।

सन् २००८ मा भएको मोर्डेका कप, २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा र फिलिपिन्समा भएको मैत्रिपूर्ण खेल, २०१२ मा भारतमा भएको नेहरु कप, २०१४ मा कोरियामा भएको खेल लगायतमा म्याच फिक्सिङ गरेको अभियोगपत्रमा उल्लेख थियो ।

खेल सुरु हुनुअघि नै नतिजा तय गरेर त्यस अनुसारकै परिणाम निकाल्ने काम म्याच फिक्सिङ हो । यस्तोमा अक्सर खेलमा बाजी लगाउनेहरु समेत संलग्न हुने गर्छन् । उनीहरुलाई म्याच फिक्सर भनिन्छ । यस्ता म्याच फिक्सरहरुले फलानो खेलमा फलानो देश यति अंकले हार्छ भनेर लाखौं रुपैयाँको बाजी राख्ने गर्छन् । तदनुसार खेलिदिनका लागि खेलाडीलाई पैसा तिर्ने गर्छन् ।

फिक्सिङका मामिलामा पूर्वखेलाडी अन्जन केसी ज्यादा संलग्न हुने गरेको पनि आरोपपत्रमा उल्लेख थियो । उनी खेलमा संलग्न नै नभएको फिलिपिन्स र दिल्लीको प्रतियोगिताहरुमा समेत गएका थिए । उनको आमा शोभा केसीको नाममा समेत वेस्टर्न युनियन मनि ट्रान्सफरबाट ३ लाख ७४ हजार ७ सय ३२ रुपैयाँ आएको प्रहरीले फेला पारेको थियो ।

त्यस्तै नेपाली राष्ट्रिय टिमको फिजियो थेरापिष्ट बनेर गएका बेबिज थापाले पनि म्याच फिक्सिङ मिलाउने गरेको र खेल मैदानमै पुगेर पैसा लिने गरेको प्रहरी अनुसन्धानले दाबी गरेको थियो । उनीहरुलाई मुद्दा चलुञ्जेलका अवधिभर एसियाली फुटबल महासंघ र एन्फाले खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *