सरकार ढल्ने डरले सांसदहरुलाई पैसा बाँडिएको सत्तारुढ दलको सांसदकै आरोप

बिराटनगर;- बजेट खर्च गर्न नसक्ने मन्त्रीको राजीनामा माग

सत्तारुढ दलका सांसदले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामाको माग गरेका छन्। विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा सत्तारुढ दलका सांसद रामनारायण विडारीले असारमा बजेट पारित भइसकेपनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताए । साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उनले प्रश्न समेत गरे ।


उनले कोभिड—१९ मा भएको खर्च सार्वजनिक गर्न माग गर्दै सडकमा नारा लगाउनु दुःखद भएको भन्दै दिनदिनै हिसाब वेव साइटमा राख्न सरकारसँग आग्रह गरे । त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको पनि उनले आलोचना गरे । सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा सरकारले पैसा बाँड्ने गरेको आरोप पनि उनले लगाए । सांसदहरुले विरोध गरे सरकार ढाल्छ भनेर कहिले ६ करोड, कहिले घुमाएर ४ करोड दिने गरेको उनको भनाइ छ ।
राजपाका सांसद मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरे । पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप दश सेकेन्ड मौनधारण गरेका हुन् ।
सांसद बेदुराम भुसालले बजेटले देश परिवर्तनका लागि लडेका नेताहरुलाई अपमान गरेको आरोप लगाए । उनले नेताहरुको विचारले मुलुकमा परिवर्तन आएको तर तिनै नेताको स्मृतिमा गरिएका कार्यक्रमलाई रोकेर अपमान गरिएको बताए । उनले विद्यालय निर्माणको काम गर्न कहिँकतै बजेट नछुट्याइएको तर मन्दिर बनाउन बजेट विनियोजन गरेर बजेटले सांस्कृतिक रुपान्तरण विरोधी भएको बताए ।
उनले सहिद गंगालाल र नेपाली कम्युनिष्ट आन्दोलनका पुस्पलालको जन्मस्थल रामेछापको भगेरिमा बनाउन लागेको स्मृति पार्क र विपी कोइरालाको पुख्र्यौली थलो सिन्धुलिको दुम्जामा पनि स्मृति पार्क बनाउन भनेर सुरु गरिएको तर ति दुवै योजनामा यसपटक बजेट नछुट्याइएको गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *