बिराटनगर;-नेशनल मेडिकल कलेज वीरगञ्जले स्नातकोत्तर तह (पिजी) तेस्रो वर्ष अध्ययनरत विद्यार्थीलाई अतिरिक्त १५ लाख रुपैयाँ बुझाउन दबाब दिएको छ।
असार ८ गतेसम्म परीक्षा फारम भर्ने समय छ। अतिरिक्त १५ लाख नबुझाए फारम भर्न नदिने कलेज प्रशासनले दबाब दिएपछि विद्यार्थीले आइओएमलगायतमा निवेदन दिएका छन्।
कलेजका २३ जना विद्यार्थीमध्ये २० जनाले कलेजले अतिरिक्त शुल्क मागेको भन्दै मंगलबार आइओएम डिन कार्यालयमा निवेदन दिएका हुन्।
पिजिका लागि त्रिविले तोकेको शुल्क ३० लाख ९९ हजार तीन सय ९६ हो। उक्त रकममा थप १५ लाख बुझाएमात्रै फारम भर्न पाउने कलेजले बताउँदै आएको छ।
‘कलेजले अतिरिक्त १५ लाख नदिएसम्म फारम भर्न दिन्न भनेको छ,’ नेसनलका एक विद्यार्थीले सेतोपाटीसँग भने, ‘अतिरिक्त पैसा नतिर्ने भए यो वर्ष परीक्षा दिन पाउँदैनौं भनेर धम्की दिइरहेका छन्।’
उनका अनुसार यो ब्याचमा २३ जना विद्यार्थी छन्।
‘तीन जना साथीहरूले १५ लाखका दरले अतिरिक्त पैसा बुझाएर फारम भर्नुभएछ,’ उनले भने, ‘हामीसँग त पैसा छैन के दिने? २० जना विद्यार्थीले फारम भर्ना पाएका छैनौं।’
कलेजले आफूखुसी शीर्षक, उपशीर्षक खडा गरी अतिरिक्त पैसा मागेको उनले बताए।
Comments