निजामती सेवासम्बन्धी विधेयक

बिराटनगर;-सांसदहरुले संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि निर्णय हुन नसक्दा संघीयता असफल बन्ने खतरा बढेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले विधेयकलाई छिटो छलफल गरी टुंगोमा नपु¥याए संघीयता असफल बन्ने बताएका हुन् ।

सांसदहरुले संघीयता असफल पार्ने गरी विधेयकलाई रोकेर बस्न नहुने बताएका छन् । उनीहरुले संघीय निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई छिटो छलफल गरी टुंगोमा पु¥याउन माग गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले कानुन नहुँदा स्थानीय तहले काम गर्न नसकेको बताए । मूल कानून नहुँदा प्रदेश र स्थानीय तहमा समस्या उत्पन्न भइरहेको कारण संघीयता नै असफल हुने हो कि भन्ने आशंका व्यक्त गरे ।

सांसद पम्फा भुसालले प्रदेशको प्रमुख सचिव केन्द्रले पठाउने, प्रदेशका अन्य सचिवहरु प्रदेशले नै नियुक्त गर्ने र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत प्रदेश सरकारले पठाउने गरी ऐनमा व्यवस्था गर्नुपर्ने बताइन् ।  यसरी कर्मचारीको व्यवस्थापन गर्दा तीन तहकै सरकारबीच समन्वय प्रभावकारी रुपमा कायम हुनजाने उनले बताइन् ।

सांसद लालबाबु पण्डितले भने संघीय सरकार र स्थानीय तहबीचको सम्बन्ध तोड्ने गरी विधेयकलाई परिवर्तन गरिएकोले आफूलाई मान्य नहुने बताए । उनले तीन तहको संघीयताको मर्म विपरित विधेयक निर्माण गर्न खोजिएकोले आफ्नो आपत्ति रहेको बताए ।
नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहले बैठकमा आउनुभन्दा अघि आफूले विधेयकको प्रतिवेदन नपाएकाले पुरा प्रतिवेदन नपढीकन यस अघि सहमति भएको भएपनि आफूले नमान्ने बबताए ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले निजामति कर्मचारीलाई देश र जनताप्रति जिम्मेवार बनाउन एक सातामा दुई दिन एक घण्टा छिटो कार्यालय पुगेर कर्मचारीहरुबीच छलफल हुने गरी विधेयकमा व्यवस्था गर्नुपर्ने बताए ।
उनले विधेयक प्रस्तुत भएपछि मन्त्री परिवर्तन हुँदा मन्त्रीको दृष्टिकोण समेत परिवर्तन हुने भएकाले विधेयकमाथि सुरुदेखि नै छलफल गर्न माग गरे ।
सांसदहरुले निजामति सेवा सम्बन्धी विधेयकलाई यही अधिवेशनबाट पारित गर्ने गरी छलफल अगाडि बढाउन सहमतिको आधारमा निर्णय गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *