विदेशबाट ११ हजार बढी नेपालीको उद्दार, ८७ शव ल्याइयो

कोरोनापछिको लकडाउनले विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएका छन्।

जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म भारतबाहेक अन्य मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको गैरआवासीय नेपाली संघले जनाएको छ।

कुन देशबाट कति फर्काइए?
शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन्।

यस्तै युएईबाट २ हजार १७ जना, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बंगलादेशबाट ८ सय १५, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट ६ सय ४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २० नेपाली स्वदेश फर्किएका छन्।

त्यस्तै थाइल्याण्डबाट ३ सय २६, ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरियाबाट २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायत २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका हुन्।

गैरआवासीय नेपाली संघले विदेशस्थित आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई अलपत्र नेपालीको सहयोग र उद्धारका लागि गन्तव्य मुलुकका राजदूतावाससँग समन्वय एवं सहकार्य गर्न निर्देशन दिएको अध्यक्ष कुमार पन्तले जानकारी दिए। सोही अनुरुप विदेशमा अलपत्रका लागि राहतका विभिन्न कार्य पनि जारी रहेको संघले जनाएको छ।

८७ शव नेपाल ल्याइयो
विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको छ।

हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ। यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ।यसका अलावा १२० वटा शव अझै विदेशमै छन्। जसलाई नेपाल ल्याउन गैरआवासीय नेपाली संघले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *