नेकपा नेताहरू भन्छन्- प्रधानमन्त्रीले नै आफ्नो राजीनामा स्थायी समिति बैठकको एजेन्डा बनाउनु भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको भनेर दिएको अभिव्यक्तिको नेकपाभित्र नयाँ तरंग ल्याएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता नल्याएसम्म नछोड्ने बताएका प्रधानमन्त्री ओलीले नक्सा जारी गरेपछि आफूलाई हटाउने खेल भइरहेको बताएका थिए।

प्रधानमन्त्रीको यो भनाइलाई पार्टीभित्रकै केही नेताहरूले हतास मनस्थिति र पराजित मनस्थितिको उपज भनेका छन्। उनका पक्षका नेताहरूले प्रधानमन्त्रीले भित्रभित्रै भइरहेको षडयन्त्रबारे निर्भीक भएर कुरा राखेको तर्क गरेका छन्।

‘जुन अभिव्यक्ति छ त्यो निराश छ। संसदमा नीति तथा कार्यक्रम पेश गर्ने दिनमै पार्टीले कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नक्सा जारी गर्न निर्देशन दिएको हो,’ नेकपाका एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने,’प्रधानमन्त्रीले त सार्वजनिक रूपमै नक्सा जारी गरेर के हुन्छ? जमिन फिर्ता ल्याउने हो लगायतका अभिव्यक्ति दिनुभएको थियो। नक्सामात्रै जारी गरेर हुँदैन भनेर उहाँले नै पटक-पटक भनेको हो।’

प्रधानमन्त्रीको राजीनामाको प्रसंग यसअघि नै आइसकेको समेत उनले बताए।

प्रधानमन्त्रीले सचिवालय र स्थायी कमिटीमा बहुमत गुमाएकाले आफूलाई असुरक्षित महशुस गरेको अर्का स्थायी समिति सदस्यले बताए।

‘पार्टीले राजीनामा माग्ने विषय पार्टीको आन्तरिक मामिला हो। यसमा कुनै पनि बाह्य शक्तिको चासो छैन,’ उनले भने,’आफूलाई राष्ट्रवादी देखाएर कार्यकर्ताको सहानुभूति बटुल्न उहाँले यस्तो गर्नुभएको हो। उहाँको यो कार्ड काम लाग्दैन।’

प्रधानमन्त्रीले राजीनामालाई आफैंले  स्थायी समिति बैठको एजेन्डा बनाएको उनको भनाइ छ।

नेकपा स्थायी कमिटी बैठक असार १० गतेदेखि बालुवाटारमा सुरू भएको छ।

वाम विश्लेषक श्याम श्रेष्ठले प्रधानमन्त्री केपी ओली पार्टीभित्रको समीकरणका कारण हतास मनस्थितिमा आएको बताए।

‘प्रधानमन्त्रीले जे बोल्नुभयो यो उहाँको तहबाट बोल्ने कुरा होइन। उहाँ होसपूर्ण ढंगले बोलेजस्तो लाग्दैन,’ उनले भने,’आन्तरिक रूपमा मिलाउन पर्ने विषयलाई प्रधानमन्त्रीले भाषणबाट पोख्नुभएको छ। यो उहाँको पार्टीभित्रको कमजोर पोजिसन भएको संकेत हो।’

नक्सा जारी गरेको विषयमा सिंगो नेपाल एक भएको बेलामा कसैले त्यही बहानामा हटाउनै नसक्ने उनको भनाइ छ।

यद्यपी सन्तोषजनक काम गर्न नसकेका कारण प्रधानमन्त्री ओली स्वयं डराएको उनले बताए।

‘प्रधानमन्त्रीको अरू काम त सन्तोषजनक छैन। त्यो कुराबाट बच्नका लागि राष्ट्रियताको कुरा अगाडि सार्नुभएको होला,’ उनले भने,’उहाँसँग भाषण गर्ने समय छ तर पार्टी बैठकमा जान समय छैन। किनकी उहाँलाई बैठकसँग डर छ।’

सरकार फेर्ने विषय पार्टीभित्र प्रवेश नै नगरेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले सेतोपाटीलाई बताए।

‘पार्टीको बैठक भइरहेको छ। त्यही बैठकमा सरकारको कामको मूल्यांकन हुन्छ। तर पार्टीले उहाँको राजीनामाबारे सोचेकै छैन,’ उनले भने,’पार्टीभित्र त्यस्तो केही छैन।पार्टीमा त्योबारे कुनै कुरै उठेको छैन। पार्टी बैठकमा एजेण्डा तय भइसकेका छन्। प्रधानमन्त्री हटाउने कुरा कसैले गरेको छैन।’

सरकारको कामबारे छलफल सुरू नभएको भन्दै उनले त्यो बेलामा कसैले केही भन्छन् भने त्यो अलग कुरा रहेको बताए।

‘अहिले त हामीले सरकारले चुस्तदुरूस्त काम गरोस् भनेर विषय उठाएका छौं,’ उनले भने,’पार्टीको कुनै पनि नेताले उहाँलाई हटाउन पर्छ भनेर गठबन्धन गरेको छैन। पार्टीका नेताले राष्ट्रियताको पक्षमा लाग्यो भनेर हटाउने भनेर कसैले कल्पना गर्न पनि सक्दैन।’

अर्का स्थायी समिति सदस्य युवराज ज्ञवालीले कुन नेतालाई कुन ठाउँमा राख्ने,कस्तो जिम्मेवारी दिने भनेर पार्टीले निर्णय गर्ने बताए।

‘कतिपय व्यक्तिलाई जिम्मेवारी हेरफेर गर्ने निर्णय पार्टीले संस्थागत रूपमा गर्छ। यो बैठकको अन्तिममा गर्ने कुरा हो,’ उनले भने,’सबैले आफ्ना विचार राख्छन्। त्यसका आधारमा निर्णय हुन्छ। यो स्वभाविक नियम हो। यसमा कुनै बाह्य र अन्तर्राष्ट्रिय शक्तिको प्रभाव देख्नु हुँदैन।’

भारतले आफूलाई हटाउन खोजेको विषय कसरी आयो भनेर पार्टीमा प्रधानमन्त्रीले जानकारी गराउनुपर्ने उनले बताए।

‘केही प्रमाण छन् भने पार्टीमा भन्नुपर्छ। होटलमा को-को बसेका थिए। त्यो सूचना प्रधानमन्त्रीलाई आएकै होला,’ उनले भने,’आफूलाई हटाउन बाह्य शक्तिबाट भएको डिजाइनबारे प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुपर्छ।’

आफूलाई मन नपर्नेबित्तिकै बाह्य शक्तिको षडयन्त्र भन्ने प्रवृत्ति गलत रहेको भन्दै उनले त्यस्तो भएमा पार्टीमा बोल्ने अवस्थासमेत नआउने बताए।

‘प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले त्यस्तो बोल्नु गलत हो। अहिले त भारतसँग कूटनीतिक रूपमा वार्ता गर्ने बेला हो। यस्ता अभिव्यक्तिले वातावरण बिग्रिन सक्छ,’ उनले भने,’हामी कोही पनि बाह्य शक्तिबाट प्रभावित छैनौं। हामी देश जनता,लोकतन्त्र र कम्युनिष्ट आन्दोलनमा समर्पित छौं।’

राष्ट्रियताबारे प्रधानमन्त्री जति नै आफू सचेत रहेको भन्दै उनले परिवर्तनका लागि प्रधानमन्त्रीको भन्दा थोरै योगदान नरहेको दाबी गरे।

अर्का स्थायी समिति सदस्य सत्यनारायण मण्डलले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमै रहेर आएको दाबी गरे।तथ्यबिना प्रधानमन्त्री बोल्न मिल्छ? अहिले जसरी पनि केपी ओलीलाई हटाउने षडयन्त्र भएको छ। विदेशी शक्ति उहाँलाई एक सेकेन्ड पनि पदमा बस्न दिने पक्षमा छैनन्,’ उनले भने,’आफूलाई हटाउन खोजिए पनि राष्ट्रवादीहरूले हट्न नदिने भनेर उहाँले चुनौती दिनुभएको हो। अहिलेको राष्ट्रियता त्यति कमजोर छैन भनेर उहाँले भन्नुभएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *