प्रदेश सरकारकै लगानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ बन्ने

नयाँ आव देखि काम शुरु गरिने, डिपिआर बनाउँदै, दुईकरोड रुपैया छुट्टाइयो
गण्डकी प्रदेश सरकारले आफनै लगानीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण गर्ने छ । प्रदेश सरकारले आफनो बहुप्रतिक्षित योजना अनुसार ‘एक अन्तराष्ट्रिय क्रिकेट मैदान’ बनाउने लक्ष्य र योजनालाई आगामी आर्थिक वर्षदेखि शुरु गर्ने जनाएको छ । क्रिकेट मैदान बनाउन प्रदेश सरकारले दुई करोड रुपैया बजेट छुट्टाएको छ ।

प्रदेश सरकारकै लगानीमा बन्ने पहिलो अन्तराष्ट्रिय क्रिकेट मैदानको लागि जमिनको सर्भे भईसकेको छ । सर्भेसँगै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने जिम्मेवारी काठमाडौंको बीआरएस कन्सल्टेन्सीलाई दिइएको छ । यसै आर्थिक वर्षमा छुट्टाएको ५० लाख मध्येबाट प्रदेश सरकारले डिपिआर तयार गर्ने योजनासहित जिम्मेवारी एकसाता अघि मात्रै दिएको हो । कन्सल्टेन्सीले असार मसान्तभित्रमा डिपिआरको फाईनल गर्ने सम्भावना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गत खेलकुुद शाखाले जनाएको छ ।

‘डिपिआर तयार भएर आएपछि सम्भवत नयाँ आर्थिक वर्षसँगै काम शुरु गर्ने छौं ।’ मन्त्रालय खेलकुद विभाग महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले भने–‘साउन या भदौमा काम शुरु गर्छौ । कन्सल्टेन्सी स्वयंले पनि सर्भे गरेर रिपोर्ट तयार गर्ने छ ।’ प्रदेश सरकार गठनसँगै विज्ञ टोली गठन गरी अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउनको लागि जग्गा छनोट शुरु गरिएको थियो । जग्गा प्राप्तीकै लागि झण्डै दुई वर्ष वित्यो । पोखरा–३३ पशुपतिघाटको झण्डै ४ सय रोपनीको क्षेत्रफल प्रदेश सरकारको जग्गा प्राप्तभएपछि मैदान निर्माणको प्रारम्भिक काम अघि बढेको हो । मैदानको लागि ५० लाख रुपैयाँ छुटाइएको थियो । ‘डिपिआर फाईनल भएपछि टेण्डर आह्वान गर्छौ ।’ महाशाखा प्रमुख काफ्लेको भनाई थियो ।

जग्गा सेती नदी किनारमा छ । जग्गा संरक्षणको लागि नदीकिनारमा तटबन्ध लगाउनुपर्ने खाँचो छ । कन्सल्टेन्सीको रिपोर्ट अनुसार तटबन्धसँगै अन्य क्रिकेटको पूर्वाधार बनाउन सकिने विषयमा यकिन हुने उनले बताए । ‘जमिन सम्याउने, पीच बनाउने, तारबार लगाउने काम अगाडि बढाउँछौै,’ उनले भने, ‘प्यारापिट निर्माण, ग्रिनरी, गेट, अफिस भवन लगायतका काम भने चरणबद्ध रुपमा गरिने छ ।’ मैदानको लागि प्रदेश सरकारले नापी गरेर सर्भे गरेको थियो । आन्तरिक सर्भे सकिएपछि प्रदेश सरकारले डिपिआर बनाउन कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको हो ।

डिपिआर बनेपछि मात्रै मैदानको लागत स्पष्ट हुने खेलकुद महाशाखा प्रमुख काफ्लेले सुनाए । ‘क्रिकेटको लागि दुई करोड रुपैयाँ छुट्टाइएको छ । त्यसबाट काम शुरु हुने छ,’ उनको भनाई थियो, ‘कति लगानी आवश्यक पर्छ पछि मात्रै थाहा हुन्छ ।’ पोखरा रंगशालाभित्र क्रिकेट मैदान छ । त्यो नै हालको लागि एकमात्र अन्तराष्ट्रिय मैदान हो । अन्तराष्ट्रिय प्रतिस्पर्धाको लागि दुईवटा मैदान अत्यावश्यक हुन्छ ।

प्रदेश सरकारकै लगानीमा बन्ने यो क्रिकेट मैदानले पोखराको क्रिकेटसँगै क्रिकेटको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले पनि क्रिकेट मैदान निर्माणले नयाँ आयाम हुने विश्वास छ । ‘तटबन्ध लगाउने, जमिन सम्याउने, तारबार लगाई नाली खन्छौं,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘त्यसपछि मात्रै पीच बनाउँछौं ।’ संघको लक्ष्य नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *