स्थायी समितिमा बुधबार बोल्नेले पनि मागे प्रधानमन्त्रीको राजीनामा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा बुधबार बोल्ने सदस्यहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टा बसेको आजको बैठकमा पाँच जना सदस्यले आफ्नो धारणा राखेका थिए। तीमध्ये दुई जना आमन्त्रित स्थायी समिति सदस्य हुन्।

पछिल्लो समय आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउँदैछ भन्ने ओलीको अभिव्यक्तिलाई लिएर उनको चर्को आलोचना भइरहेको छ।

आजको बैठकमा बोल्दै आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताए।प्रधानमन्त्रीले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभयो। उहाँको अरू शैली पनि ठीक भएन। पार्टीमा एक पद, एक व्यक्ति भन्ने नीति छ। त्यसैले उहाँले प्रधानमन्त्रीबाट होइन पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ भन्ने मेरो धारणा हो,’ खतिवडाले सेतोपाटीसँग भने,‘मैले बैठकमा पनि त्यही भनाइ राखें।’

बैठकमा बोल्दै स्थायी समिति सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले भने ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिनुपर्ने बताएका थिए।

‘तपाईंको स्वास्थ्य, उमेर र काम गर्ने प्रवृत्तिले पदमा रहिरहन मिल्दैन। तपाईंले दुबै पदबाट राजीनामा दिनुपर्छ भन्नुभयो,’ बैठकमा सहभागी अर्का एक स्थायी समिति सदस्यले भने।

स्थायी समिति सदस्य पोखरेल त प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन खोज्यो भनेर दिएको अभिव्यक्तिले नेपाली जनताको अपमान गरेको बताएका थिए।‘नेपालको सरकार ढाल्न कसैले षडयन्त्र गर्छ भने त्यो अपराध हो, त्यस्तालाई कारबाही गर्नुपर्छ। यदि त्यस्तो भएको छैन तर प्रधानमन्त्रीले झुठो बोल्नुभएको हो भने त्यो पनि अपराध हो,’ पोखरेलले बैठकमा भनेका थिए।

पर्यटन मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले भने नेतृत्व बीचको विवाद मिलाउनुपर्ने र सच्चिएर जानुपर्ने बताएका थिए।

अर्का आमन्त्रित सदस्य नन्दु प्रसाईंले भने प्रधानमन्त्री ओलीलाई पदीय मर्यादाविपरीत जथाभावी नबोल्न सुझाव दिएका थिए।

‘तपाईंले किन यसरी बोल्नुपर्‍यो तपाईं सुध्रिनुस्,’ बैठकमा उनले भने।

यसअघि मंगलबार बसेको बैठकमा बोल्ने लगभग सबै स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।

बैठकमा बोल्ने स्थायी समिति सदस्यहरूले पनि प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै अब पदमा बसिरहन नमिल्ने बताएका थिए।

सबैजसो नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेको स्थायी समिति सदस्य गणेश शाहले सेतोपाटीलाई बताए।

‘भन्ने शैली सबैको एउटै थिएन होला, तर सबैको आशय राजीनामा नै थियो,’ उनले भने, ‘पार्टीकै सचिवालय सदस्यहरूले भनेकाले निकास दिनुपर्छ भनेर मैले पनि भनेको हो।’

प्रधानमन्त्री ओलीसँग राजीनामा दिने या पार्टी फोड्नेबाहेक अरू विकल्प नरहेको एक स्थायी समिति सदस्यले सेतोपाटीलाई बताए।

बैठकमा बोल्दै स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी थिइन्। उनले पार्टीभित्र वरिष्ठता र योगदानलाई बेवास्ता गरिएको आरोप लगाएकी थिइन्।

अर्का स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री विवादमा पर्दै गएकाले राजीनामा दिनुपर्ने बताएका थिए।

‘तपाईंले काम गर्न सक्नुभएन। झन्-झन् विवादमा पर्दै जानुभएको छ,’ पन्तको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पार्टीभित्रको एकता कायम राख्न तपाईंले राजीनामा दिनुपर्छ।’

स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी बैठक चलिरहेका बेला विदेशीले हटाउन लाग्यो भनेर भन्नु लज्जास्पद रहेको बताए। प्रधानमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाइसकेको उनको भनाइ थियो।

स्थायी समिति सदस्य गोकर्ण विष्टले प्रधानमन्त्रीका अभिव्यक्तिले नेपालको सार्वभौमिकतामै प्रश्न उठेको बताएका थिए।

‘उहाँका अभिव्यक्तिले सार्वभौमसत्ताको प्रयोग नेपाली जनताले गर्छन् कि गर्दैनन् भनेर आशंका गर्ने ठाउँ बनेको छ। सरकार बनाइदिने र सरकार फेर्दिने भनेको विदेशीले हो भनेर उहाँले स्थापित गर्न खोज्नुभएको छ,’ विष्टले बैठकमा भनेका थिए, ‘प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ? नेकपाको बहुमत छ भने नेकपाबाहेक कसले हटाउन सक्छ? उहाँबाट सरकार र पार्टी चल्न सक्ने नभएकाले निकास खोज्नुपर्छ।’

मंगलबारको बैठकमा प्रधानमन्त्रीको बचाउ गर्दै कोही पनि स्थायी समिति सदस्य बोलेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *