खटाएको ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

१९ असार, बुटवल । सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

पाल्पा अस्पताल तानसेनमा पदस्थापन भएका तर चैत २ गतेदेखि हालसम्म काममा नगएका जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तहका छविराज गिरीलाई मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन एकहप्ते अल्टिमेटम दिएको हो ।कोरोना महामारीको जोखिमका बेला लकडाउनका समयमा पनि अनिवार्य उपस्थित भई बिरामीलाई सेवा दिनुपर्नेमा विदासमेत स्वीकृत नगरी गिरी साढे तीन महिनासम्म कार्यालयमा हाजिर नभएको मन्त्रालयले जनाएको छ ।

तर अटेर गरेपछि प्रशासन तथा योजना महाशाखाले असार १८ गते गिरीका नाममा पत्र काटेर भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनुनपर्ने कारण भए ७ दिनभित्र मन्त्रालयमा उपस्थित भई स्पष्टीकरण बुझाउन निर्देशन गरेको छ ।

अन्यथा स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ र प्रचलित कानून अनुसार गिरीमाथि कारवाही गरिने मन्त्रालयको पत्रमा उल्लेख छ ।

यसअघि जेठ अन्तिम साता पनि मन्त्रालयले सरकारले खटाएको स्वास्थ्य केन्द्रमा काम गर्न नगएकी मेडिकल अधिकृत डा. सीमा शर्मालाई एकहप्ते अल्टिमेटमसहित कारवाहीका लागि स्वास्थ्य सेवा विभागमा सिफारिस गरेको थियो ।

त्यसअघि सामाजिक विकास मन्त्रालयले यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यररत पाँचजना चिकित्सकलाई कोरोना महामारीका बेला काममा नआएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *