बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

१९ असार, काठमाडौं । धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले अनलाइनखबरलाई बताएअनुसार बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गरिएको छ । मतियार बनेको अभियोगमा ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गरिएको छ ।

बालबालिका ऐनको यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण सम्बन्धी कसुरमा मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुर अनुसार कारबाही हुने व्यवस्था छ ।

यो पनि पढ्नुहोस
रामबहादुर बम्जन प्रहरीबाट उम्किए, अदालतले के गर्ला ?
बम्जनलाई पक्राउ गर्न प्रहरीले दुई पटक सिन्धुलीस्थित आश्रममा छापा हाने पनि उनी उम्किन सफल भए । आश्रममा बसेकी १५ वर्षीय आनीलाई ३० साउन ०७३ मा बलात्कार गरेको आरोप बम्जनमाथि लागेको थियो ।

उनले धाक, धम्की दिएर प्रभावमा पारी बलात्कार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले तयार पारेका रायसहितको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

बलात्कार सम्बन्धी कसुरमा घटना भएको एक वर्षसम्ममा उजुरी दर्ता भइसक्नु पर्छ । तर, यो घटनामा पीडित नाबालिका भएकाले १८ वर्ष पूरा भएको एक वर्षसम्म उजुरी गर्न मिल्ने व्यवस्था अनुसार कानुनी प्रक्रिया अघि बढेको हो ।

बम्जन आश्रमबाट सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला पनि बेपत्ता भएको प्रहरीमा उजुरी छ । तर, हालसम्म उनीहरुको कुनै पत्तो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *