नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

पछिल्लोपटक स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग हुँदै आएको छ । तर प्रधानमन्त्रीले राजिनामा नदिने अडान राखेपछि स्थायी कमिटी बैठक समेत अन्योलमा छ । राजीनामा मागपछि देखिएको अन्योलका विषयमा सहमति जुटाउन शुक्रबार नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको बैठकमा कुनै निर्णयमा पुग्न सकेको थिएन ।

आज पनि दुई नेताले स्थायी कमिटी बैठक अघि सहमतिको प्रयास गर्ने बताइएको छ । नेकपामा पछिल्लो समय ओलीले मन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग उठेको छ । तर प्रधानमन्त्री दुबै पद नछाड्ने अडानमा छन् ।

स्थायी कमिटी बैठक चलिरहेको समयमा एक्कासी संसद अधिवेशन अन्त्य गरिएपछि नेकपाका विवाद झनै चर्किएको छ । अचानक संसद्को अधिवेशन अन्त्य गरेर पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी भएको शंका दाहाल माधव नेपाल पक्षधरका नेताहरूले व्यक्त गरे पनि ओली पक्षका नेताले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *