नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय १७

काठमाडौं : नेपालमा एकै दिन ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबार दिउँसो ५७ जना र साँझ फेरि २६ जनामा कोरोना संक्रमण पोजेटिन देखिएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय १७ पुगेको छ । काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार साँझ २६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यीमध्ये तीन जना भक्तपुर र काठमाडौँका रहेका छन् । काठमाडौंकी ३३ वर्षीया महिला, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । पर्सामा १२ पुरुष र ६ महिला गरी थप १८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महोत्तरीमा दुई पुरुष, धनुषामा २० वर्षीय महिला र ४० वर्षीय पुरुष, सर्लाहीमा ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यसअघि मंगलबार नै प्रयोगशालामा ५७ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् ।

संक्रमित हुनेमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीसमेत रहेका छन् । पर्सामा दुई जना सञ्चारकर्मी र कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । नेपालमा पहिलो पटक माघ १ गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *