झापा — भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको निर्माणाधीन भवनमा बनाइएको अस्थायी कोभिड अस्पतालको निर्माण सम्पन्न भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्वर ठाकुरका अनुसार, केही समयअघि उक्त भवनमा कोभिड अस्पताल बनाउने कुरामा स्थानीयवासीले विरोध जनाएता पनि उपयुक्त स्थान नभेटिएका कारण प्रादेशिक अस्पतालपूर्वको निर्माणधीन भवनलाई नै तत्कालका लागि कोभिड अस्पतालको रुपमा प्रयोग गर्न सुरु गरिएको हो ।
अस्पताल स्रोतका अनुसार निर्माणाधीन भवनका दुई वटा हल प्रयोग गरिने छ । जसमा ७५ शय्या राखिने छ । अस्पतालले २२ शय्याको आइसोलेनसन पनि सञ्चालन गर्दै आएको थियो । आइसोलेसनका बिरामीसमेत तत्काल कोभिड अस्पतालमा सारिने छ ।
कोभिड अस्पतालको सुरक्षा जिम्मा सेनालाई दिइने छ । डा। ठाकुरले तत्काल जनशक्ति समेत व्यवस्थापन गरी अस्पताल सुरु गरिने जनाए । कोरोना भाइरस संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले कोभिड अस्पतालका लागि निर्माणाधीन भवन नै उपयुक्त ठानेर सञ्चालन गर्न लागिएको जनाए ।
Comments