१६ भदौ, काठमाडौं – अब करदाताले घरमै बसेर अनलाइनको माध्यमबाट कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता हेर्न सक्ने भएका छन् ।पछिल्लो समय विभागले कर बुझाउन कर कार्यालयमै धाउनु पर्ने बध्यता हटाउँदै बैंक वा विद्युतीय भुक्तानीका माध्यमबाट समेत कर तिर्न सकिने प्रणालीको विकास गरेको थियो ।
आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । सोही अनुसार करदाताले कर तिरिसकेपछि आफैं करचुक्ता प्रमाणपत्र डाउनलोडसमेत गर्न सक्छन् । सोही प्रमाणपत्रको आधिकारिकता जाँच वेबपोर्टलबाट गर्न सकिने भएको छ ।
वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए(नपाएको हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो ।
विभागले प्रारम्भमा साना करदाताका लागि विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुने गरी प्रणाली बनाएको हो । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय कर चुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाइएको छ ।प्रणालीले स्वतः आय विवरण र कर बक्यौता भए नभएको सुनिश्चित गरी बक्यौता नभएमा कर चुक्ता प्रमाणपत्र जारी गर्ने भएको छ । यो पनि स्वचालित प्रणालिमा आधारित बनाइएको छ ।
त्यस्तै विभागकले २०७८ असार मसान्तसम्म भ्याटमा दर्ता भएका करदाताको विवरण बायोम्याट्रिक प्रणालीमा अध्यावधिक गर्ने लक्ष्य राखिएको छ ।
सो प्रयोजनका लागि सम्बन्धित कर कार्यालयमा पुगेर आफ्नो विवरण अध्यावधिक गराउन विभागले करदातालाई आहृवान समेत गरेको छ ।
।
Comments