रौतहट — रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार (फिरोजमिया धुनिया र मन्नुकुमार सिह) निलम्बनमा परेका छन् ।
साउन ३१ गते जिंगडियाका २० वर्षीय निरन्जन रामको हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते गाउँकै विजयलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो । उनले उसै बेला हत्यामा आफ्नो संलग्नता नरहेको भनेता पनि घटनाको अनुसन्धान गर्न भन्दै विजयलाई हिरासतमा लिएको थियो । यस घटनामा प्रहरीले सोधपुछ गर्नेक्रममा विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएका कारण चमारको मृत्यु भएको भन्दै परिवार तथा स्थानीयले आरोप लगाएका थिए। त्यसपश्चात उनीहरुलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरिएको हो ।
प्रहरी निमावली २०७१ नियम ११५ दफा ४ बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्तनहुन्जेल ६ महिना सम्मका लागि इन्सपेक्टर सिंहलाई गृह मन्त्रालय ९सचिवस्तर० को भदौ १५ गतेको निर्णयानुसार अनुसार निलम्बन गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अन्सु सिंहले बताए ।
‘उनको पोष्टमार्टम रिपोर्ट पनि आएको छैन, यस विषयमा छानविन गर्न उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन भएको छ।
पीडित परिवारले तीनैजनालाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग राख्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही माग राख्दै गरुडास्थित प्रहरी कार्यालय अगाडि दिनहुँ प्रदर्शन भइरहेको छ ।
Comments