अन्ततः रातो मच्छिन्द्रनाथको रथ आज तानिने

भाद्र २१ गते, ललितपुर – विभिन्न झडप,कर्फ्यु र समस्याका बावजुद आज ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ दिउँसो तीन बजे तानिने भएको छ ।
रथ व्यवस्थापन संयोजक चन्द्र महर्जनका अनुसार दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसबर्ष सधैझै लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने भएका छौं ।

Sushmita Shah_Abadainik

यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।
गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी गराउनुभयो ।सोह्रखुट्टे पाटी हाल रथ भएको स्थान पुल्चोकबाट करिब २० मिटर टाढा छ ।

आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको महर्जनले बताउनुभयो ।

लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाई रथयात्रामा सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराउनुभयो ।

विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले शुक्रबार र शनिबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको पनि महर्जनले बताएका छन् ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *