भाद्र २२ गते,विराटनगर – काठमाडौं महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको छ ।
उनलाई ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट सोमबार पक्राउ गरिएको महाशाखाका एसएसपी दीपककुमार थापाले बताए ।
उनले विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने गरेका छन् ।
पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए । तर, दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएको पाइएपछि उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो ।
Comments