भाद्र २४ गते,विराटनगर – आजदेखि सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र पर्व ‘जितिया ’ धार्मिक विधिअनुसार शुरु भएको छ ।
व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने चलन छ । त्यसैगरी भोलि ९बिहीबार० बिहान चार बजेदेखि निराहार एवं निर्जला व्रत बसी पर्सि ९शुक्रबार० बिहान व्रत सम्पन्न गर्नेछन् ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वासका साथ जितिया पर्व मनाइने गरिन्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।
उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन्
व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ तर यसपल्ट ओंगठन खाने साइत छैन । यसपटक आज राति १० बजेभन्दा अगाडि नै व्रतीहरुले खानुपर्ने सबै खानेकुरा खाइसक्नुपर्छ र भोलि बिहान केही खाँदैनन् ।
प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ । त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत निकै कठिन रहेको छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।
Comments