राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना व्यक्त ।

भाद्र २५ गते,विराटनगर –  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिली र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।

Sushmita Shah_Abadainik

जितिया पर्वका अवसरमा आज शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम‚ विश्वास, सद्भाव र सहयोगको भावनालाई प्रगाढ बनाउनाका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सद्भाव‚सहिष्णुता‚समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 


नेपालमा मनाइने यस किसिमका चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको जनाउँदै राष्ट्रपतिले यी चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यास एवं अव्यावहारिक पक्षलाई समयसापेक्ष सुधारसमेत गर्दै जानुपर्ने विचार पनि व्यक्त गर्नुभएको छ ।
जितिया पर्वले महिलाविरुद्ध थोपरिएका सबै प्रकारका विभेद‚ असमानता र हिंसालाई अन्त्य गर्दै समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई उत्प्रेरणा र उत्साह प्रदान गरोस् भनी उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *