बिराटनगर:
प्रहरीले ५० भारतीय नागरिकलाई आज बिहान काभ्रेको धुलिखेलबाट नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको जल्केनीस्थित विद्युत प्रशारण लाइनमा कार्यरत भारतीय मजदुर बिहान कन्टेनर भ्यानमा धुलिखेल आएका हुन् । उनीहरुलाई जहाँबाट आएको त्यहीँ फर्काउने तयारी छ ।
त्यस्तै कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ ।
बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मङ्गलटारमा चाँजचौकी राखी थप कडाइ गरिएको हो ।
धुलिखेल अस्पतालमा भने मृतक महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी अस्पतालको क्वारेन्टाइनमा राखी अस्पताल क्षेत्रमा थप उच्च सतर्कता अपनाइएको छ ।
Comments