विराटनगरको कोशी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवतीको मृत्यु ।

भाद्र २६ गते,विराटनगर –  विराटनगर महानगरपालिका-६ की ३० वर्षीया विमला ऋषिदेवलाई प्रसूति व्यथाले च्यापेपछि आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याएता पनि यसअघि दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेकाले तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै कोशी अस्पतालले प्रसव पीडामा रहेकी उनलाई भर्ना गर्न मानेन । निम्न आर्थिक स्थिति भएका उनीहरुसँग निजी अस्पताल लैजान खर्च नभएपछि मध्यरातमा बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको हो ।

सुकुमबासी टोलमा ज्याला मजदुरी गरेर जीविका चलाएको आएको ऋषिदेव परिवारसँग विमलाको अन्तिम संस्कारका लागि पनि पैसा नभएर शव उठाउनै समस्या भएपछि नेपाली कांग्रेसका प्रदेश-१ सचेतक केदार कार्कीको सहयोगमा विमलाको अन्तिम संस्कार गरियो ।

विमलाकी ९ र ३ वर्षकी दुई छोरी छन् । अढाई वर्षका छोराको एक वर्षअघि खोलामा डुबेर मृत्यु भएको थियो ।

कांग्रेसका प्रदेश-१ सचेतक कार्कीले पनि अस्पतालको लापरबाहीका कारण महिलाको मृत्यु भएको बताएका छन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले फिर्ता पठाउन नमिल्ने कसैले फिर्ता पठाएको भए छानविन गरी कारबाही गर्ने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *