कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ ।
घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका हुन्। उनी विदा भईसक्दा समेत उनको ठाउँमा कस्को नियुक्ति हुने अझैसम्म टुङ्गो लाग्न सकेको छैन ।
उर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएका थिए ।
सोमबार साँझ बसेको क्याबिनेट बैठकमा उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि क्याबिनेटमा यो प्रस्तावले प्रवेश पाएन । प्रधानमन्त्रीले यो प्रस्तावलाई सोमबारको एजेण्डामै चढाएनन् ।
‘बैठक सकिनै लाग्दा उर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री समक्ष ‘मेरो पनि एउटा प्रस्ताव थियो भन्दा समेत प्रधानमन्त्रीज्यूले कानूनअनुसार बुझौंला भनेर टारेका थिए ।’
स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले यसअघिदेखि नै अनिच्छा प्रकट गर्दै आएका छन् । उनले मिडियामा चर्चा गरेका भरमा नियुक्ति नदिने बताउँदै आएका छन् । तर, ढीलै भए पनि प्रधानमन्त्री ओलीले घिसिङलाई नै नियुक्त गर्ने स्रोतको दाबी छ । कुलमानलाई दोहोर्याउन जनस्तरबाट पनि सरकारमाथि दबाव छ ।
घिसिङको पुनः नियुक्तिको माग गर्दै सोमबार माइतीघर लगायत देशैभरिका विभिन्न स्थानमा प्रदर्शनसमेत भएको छ ।
Comments