भाद्र ३० गते,विराटनगर – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीविरूद्ध सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बिगो माग दाबी लिई अख्तियारले मंगलबार अदालतमा मुद्दा दायर गरेको हो।
२०५० साल असार २७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दास २०६८ साल पुस १७ गते उपकुलपति र त्यसपछि प्रतिष्ठानमा प्राध्यापक भएर काम गरेका थिए।
अख्तियार प्रवक्ता तारानाथ अधिकारीका अनुसार दासले सार्वजनिक सेवामा रहँदा १५ करोड ३२ लाख ३ हजार ३३० रुपैयाँ आर्जन गरेको र सो रकमको स्रोत नखुलेको बताए। उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती पुनमको नाममा राखेका छन् ।
‘पद अनुसार उच्च जीवनयापनसमेत गरेको देखिएकोले सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखियो,’ अख्तियारले अभियोग पत्रमा लेखेको छ।
Comments