क्यानले बढायो क्रिकेटरको तलब ।

असोज ७ गते, विराटनगर –  नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेटरको तलब बढाउँदै सन् २०२० का लागि नयाँ ग्रेड निर्धारण गरेको छ।

चितवनमा मंगलबार बसेको क्यानको बोर्ड बैठकले पुरुष खेलाडीको तीन वटा ग्रेड कायम राख्दा प्रत्येक ग्रेडको ५-५ हजार रुपैयाँका दरले तलब बढाउने निर्णय गरेको छ।

क्यानको निर्णयअनुसार ग्रेड ‘ए’ मा रहेका क्रिकेटरले मासिक ५० हजार, ग्रेड ‘बी’ का क्रिकेटरले मासिक ४० हजार र ग्रेड ‘सी’का क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउनेछन्।

क्यानले पहिलो श्रेणीमा ८ खेलाडीलाई समावेश गरेको छ। दोस्रो श्रेणीमा चार खेलाडी छन् भने तेस्रो श्रेणीमा ६ खेलाडी परेका छन्। जससँगै सन् २०२० मा क्यानको सम्झौतामा १८ जना पुरुष खेलाडी रहनेछन्।

यस्तै क्यानले महिला क्रिकेटरलाई पहिलो पटक मासिक तलब उपलब्ध गराउने भएको छ। महिला क्रिकेटरको पनि तीन श्रेणीमा वर्गिकरण गरिएको छ। ग्रेड’ ए’  का क्रिकेटरले मासिक १५ हजार,  ग्रेड ‘बी’का क्रिकेटरले मासिक १२ हजार र  ग्रेड ‘सी’का क्रिकेटरले मासिक १० हजार  रुपैया पाउनेछन्।

क्यानको बैठकले वार्षिक साधारणसभा आगामी असोज २८ गर्ने निर्णय गरेको छ भने खेलाडी बीमा र राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने विषयमा पनि निर्णय गरेको छ।

घाइते क्रिकेटर ललितसिंह भण्डारीको सम्बन्धमा,मोटरसाइकलमा सवार ललितलाई ठक्कर दिने ट्रक मालिकसँग उपचार खर्च लिन पहल गरिने, नेपाल पुलिस क्लबसँग पनि समन्वय गर्ने, आवश्यक सबै सहयोग गर्न क्यान तयार रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *