मृतक महिला सम्बन्धित संगै : राहत बाँड्ने जनप्रतिनिधिको पनि कोरोना परीक्षण

काठमाडौं ।
कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा आएका टोखा नगरपालिकाका २४ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ ।

ती महिलाको परिवार डेरा गरी बस्ने घरका घरवेटी, सँगै भाडामा बस्ने अन्य वासिन्दा, सामान किनमेल गर्ने पसल सञ्चालक र राहत वितरण गर्ने तीन जनप्रतिनिधिको कोरोना परीक्षण गरिएको हो ।

ती जनप्रतिनिधि ती महिलाको परिवारलाई राहत बाँड्न पुगेका थिए ।

टोखाका मेयर प्रकाश अधिकारीले रिपोर्ट सोमबार दिउँसो आउने बताएका छन् । ‘टोखा नगरपालिका–९ वुद्धचोक वरपर कन्ट्याक ट्रेसिङ गर्दा सम्पर्कमा आएकाहरु यत्ति हुन् भनेर स्वाब संकलन गरी पीसीआर परीक्षणमा पठाएका छौं’ उनले भने ।

उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाइएको छ ।

ती महिलाको नवजात शिशु, श्रीमानसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ आएकाले टोखामा परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आउने आशा रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *