असोज ८ गते,स्याङ्जा- स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा एकै परिवारका ५ जना सहित ६ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता भएका छन् । एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ मा पहिरोले माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको छ भने परिवारका अन्य ४ जना बेपत्ता रहेका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ ।
मृत्यु हुनेमा माया नेपाली, दीपक नेपाली, सनी नेपाली, उमाकाला नेपाली र विवश नेपाली रहेका छन् । जीवितै उद्धार गरिनेमा मनिषा नेपाली रहेकी छन् । उनको अवस्था सामान्य रहेको छ । उनको हाल वालिङस्थित ग्रहुँकालिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ ।
घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीले अन्य ४ जना बेपत्ताहरुको खोजी गरिरहेको छ ।
तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घामा पनि पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका( ४ बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियार रहेको स्थानीय नेकपाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
यसैगरी पाल्पाको रम्भा गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।
Comments