महुली र अमसोत खोलामा वन गस्तीसँग भिडन्त

राजविराज : काठ तस्करले घेरा हालेपछि सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका १ स्थित महुली र अमसोत खोलामा वन गस्तीसँग भिडन्त भएको छ। लकडाउनको मौका छोपेर सप्तरीमा बढेको वन्यजन्तु शिकारी र काठ तस्करी रोक्न गएको वन गस्ती टोलीलाई तस्करले घेरा हालेपछि दुई राउण्ड हवाई फायर गरिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झाले बताए । झाका अनुसार ठूलो सङ्ख्यामा संगठित भइ भेला भएर वन गस्तीलाई नै घेरा हाली आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि हवाई फायर गर्नु परेको हो ।

‘बरामद गरिएको काठ गस्ती टोलीबाट लुटने प्रयासस्वरूप तस्करले घेरा हाले,’ डिभिजन कार्यालय प्रमुख सन्तोष झाले भने,’ ‘वन गस्तीलाई देखेर चिरान काठ छाडी भागेका तस्कर नै संगठित भएर घेरा हाली आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि हवाई फायर गर्नु पर्‍यो।’

गस्ती टोलीले दुई राउण्ड हवाई फायर गरेपछि तस्करहरू भागेको र उनीहरूबाट बरामद ६ क्यूफिटको ६ थान चिरान काठ बरामद गरिएको छ ।

गोली प्रहार गरी रतुवा मृग मारेर सप्तरीको महुली सव डिभिजन अन्तर्गतको जङ्गलमै छाला निकाल्न पानी उमालिरहेका बेला वन गस्तीले दुईजना वन्य जन्तु शिकारीलाई पक्राउ गर्‍यो । सहायक वन अधिकृत धनराज मण्डलको नेतृत्वमा चुरे डाँडामा रहेको पानीढलो क्षेत्रसम्म पुगेको वनगस्तीले उदयपुरको त्रियुगा नगरपालिका-१ मैन्हाका मिश्रीलाल चौधरी र अशोक राईलाई मृत मृगसहित पक्राउ गर्‍यो । पानी तताइरहेका बेला राई र चौधरी पक्राउ परे पनि संलग्न अन्य तस्कर फरार भए ।

तस्कर हतियारसहित वन क्षेत्रमा प्रवेश गर्न थालेपछि डिभिजन वन कार्यालय सप्तरीले द्वन्द्वकालमा बुझाएको १० थान बन्दुक र गोलीगट्ठा जिल्ला प्रशासन कार्यालयबाट फिर्ता लिएको छ । वन तथा वन्यजन्तु संरक्षणमा थपिँदै गएको सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गर्न हतियार फिर्ता लिएर गस्ती टोली परिचालन गरिएको वन कार्यालयको भनाइ छ ।

मातहतमा रहेको दौलतपुर, कल्याणपुर, रूपनी, महुली, कञ्चनरूप र पत्थरगाढास्थित ६ वटा सव डिभिजन कार्यालयबाट सहायक वन अधिकृत र रेञ्जरको नेतृत्वमा पाँचदेखि सातजनाको टोलीले चरणबद्ध रूपमा गस्ती गर्न थालेपछि ठूलो परिमाणमा लुकाई छिपाइ राखेको काठ समेत बरामद भएको कार्यालयले जनाएको छ ।

जिल्ला वन अधिकृत झाका अनुसार वन गस्तीले तस्करी गर्न वनभित्र लुकाइ छिपाइ राखिएको र वनबाट ल्याउँदै गरेको अवस्थामा साल गोलिया बल्लाबल्ली ५३ थान र सालको चिरान काठ ३९ थान बरामद गरेको छ ।

बरामद गरिएको काठ १४१ क्यूफिट रहेको छ ।दिनरात गस्तीमा खटिरहेको वन कार्यालयले जनाए पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनतर्फ सबैको ध्यान केन्द्रीत भएको मौका छोपी काठ तस्करी र वन्यजन्तु चोरी शिकारी बढिरहेको स्थानीयवासीको गुनासो छ ।

वन कार्यालयले पनि महुली, रूपनगर, रूपनी र दौलतपुरअन्तर्गतको जंगलमा बढी मात्रामा चोरी तस्करी बढेको जनाएको छ । वन्यजन्तु चोरी सिकारी र वनपैदावर तस्करी मौलाएसँगै डिभिजन वन कार्यालयले ठोस कार्ययोजना र अभियानका साथ गस्ती गर्नुपर्ने रूपनी गाउँपालिका-१ का राजु जायसवालले बताए । चोरी, तस्करीलाई रोक्न अभियान नचलाए लकडाउनको मौका पारेर तस्करले वन र वन्यजन्तु सक्ने स्थानीयको चिन्ता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *