मंसिर ५ गते,विराटनगर – चीनको राष्ट्रिय फार्मासियुटिकल समूह, सिनोफार्मले बनाएको कोरोना विरूद्धको खोप परीक्षणका लागि करिब १० लाख मानिसलाई खोप लगाइएको छ । रोयटर्सका अनुसार देशभर यो खोपको आकस्मिक परीक्षण गरिएको हो ।
चीनले आफ्नो खोपको आकस्मिक परीक्षण गत जुलाइमा सुरू गरेको थियो । यो क्रममा तीन प्रकारका खोप प्रयोग गरिएका थिए । यी खोप कति सुरक्षित र प्रभावकारी छ भन्नेबारे क्लिनिकल रूपमा पुष्टि भने भइसकेको छैन ।
सिनोफार्मका अध्यक्ष लियु जिङजेनले एक अन्तर्वार्ताका क्रममा यो आकस्मिक खोप लगाएकाहरूलाई कुनै पनि किसिमका गम्भीर असर वा साइड इफेक्ट नदेखिएको बताएका छन् ।
परीक्षणमा समावेश गरिएका तीनमध्ये दुई खोप सिनोफार्मकै अनुदानमा चाइना नेसनल बायोटेकले विकास गरेको हो भने अर्को सिनोभाक बायोटेकले विकास गरेको हो।
रोयटर्सका अनुसार सिनोफार्मका खोपले शरीरमा निष्क्रिय भाइरस प्रवेश गराउनेछ जुन मानव कोषमा विकास हुन सक्दैन। तर यसले शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय बनाउन भूमिका खेल्छ। क्लिनिकल परीक्षणका आधारमा हेर्दा यसको दुई डोज आवश्यक हुन्छ।
Comments