मंसिर १० गते,विराटनगर – महोत्तरीमा ६ वर्षिय बालिकाको हत्याको विरोधमा स्थानियले गरेको प्रदर्शनका कारण तनावपूर्ण बनेको बर्दिवासमा स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
हिजो भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी प्रशासनले बर्दिवास नगरपालिका भर निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्म जारी रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए ।
बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं -१ को रातो खोला, पश्चिम मा वार्ड नं- ५ को माइस्थान, उत्तरमा वार्ड नं -३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं- ८ को हात्तीलेट क्वार्टर चौकसम्म आवतजावत बन्द गरिएको छ ।
निषेधाज्ञा अवधिभर उक्त क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन नपाउने भएता पनि पूर्व-पश्चिम राजमार्ग भने सुचारू रहने कटुवालले जानकारी दिएका छन् ।
Comments