विश्व एड्स दिवस

मंसिर १६ गते,विराटनगर – विश्वमा समयसमयमा बिभिन्न तरिकाले सर्ने भाइरसहरुको प्रकोप आएको पाइन्छ, चाहे त्यो एचआईभी होस्, रेबिज या कोभिड नै किन नहोस ?

सन् २०२० को विश्व एड्स दिवसमा यस मानवजगतले अर्को भीमकाय भाइरस, कोभिड १९ संग पनि जुझ्नु परिरहेको छ । तसर्थ यस वर्षको नारा नै एचआइभी एड्सको महामारीलाई अन्त गर्दै यस भाइरस विरुद्ध लड्न एउटा प्रतिरोधी र प्रभावमुखी विश्वको परिकल्पना गरिएको छ ।

सन् २०३० सम्म एचआईभी भाइरसको ९० प्रतिशत नयाँ संक्रमण कम गर्ने, ९० प्रतिशतमा उपचार पूर्याउने र ९० प्रतिशत भेदभाव कम गर्ने महत्वाकांक्षालाई यस वर्ष कोभिड प्रभावले प्रतिकुल असर पारेको छ । नेपालका दुरदराज गाँउमा रहेका र स्वास्थ संयन्त्रमा कम पहुँच पुगेका एचआईभी संक्रमीत र प्रभावितहरुको आज हामी संझना गर्न चाहन्छौं । यस वर्ष त अरु वर्षहरु झैं सिडिफोर काउण्ट गर्न, एआरभ ीओखती लिन वहाँहरु उक्त स्वास्थ केन्द्र सम्म पनि जान सक्नुभएन होला । कोभिड र एचआईभी दुबैको प्रभाव झेल्दै अझ अफ्ठेरोमा पर्नु भएका ति परिवारहरु प्रति सम्बन्धीत निकायको ध्यान जाओस् ।

Sushmita Shah_Abadainik
टिभी या रेडियोमा एचआईभी एड्सकाबारेमा निक्कै सन्देशमूलक विज्ञापन आउने गर्दछन्, ति विज्ञापन आउँदा हामीमध्ये कत्तिले नाक खुम्च्याएर च्यानल चेञ्ज पनि गर्यौं होला, अफ्ठेरो महसुस पनि गर्यौं होला या विस्तारै सहजता महसुस गर्दै पनि गयौं होला । वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसंग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौ र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजजन स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ नै छौं । मह सञ्चारका विभिन्न टेलिसिरियलमा हामीले एचआईभी सम्बन्धि धेरै सिरियलहरु अनि अभिब्यक्तिहरु देखेका हुनसक्छौं चाहे त्यो सुपारी चपाएर बिजुलीको तेल लगाउने ससुरा हुन या टुल्केका चार मन्त्र होस्, कण्डमको विज्ञापन होस् या पाठ्यक्रममै किन नहोस्, हामीले एचआईभी र एड्ससंग सम्बन्धित ज्ञानमूलक, जानकारीमूलक सामाग्रीहरू सुन्दै, देख्दै र पढदै आएका छौ ।

विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्‍याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ । यसवर्ष कोरोना त्रासले सबै कार्यक्रमहरु भर्चुअल्ली गरिने भएको छ । एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन्, एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलापकालागि अत्यन्त संकुचितत समाज अनि असुरक्षीत यौनजन्य क्रियाललापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमितहरु धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुबिधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरुले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरु अझै पनि समाजमा सुन्न सकिन्छ ।

आज विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ति सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *