मंसिर १८ गते,विराटनगर – गत दुई वर्षदेखि स्थिगित राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गैंडा गणनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा नेपालका गैंडा आरक्षकका रुपमा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ ।
विसं २०७४ मा गैँडा गणना गर्ने तयारी गरिएता पनि त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन सकेको थिएन ।
गत वर्ष पुनः गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण रोकिएकोले यस वर्ष गणना गर्ने तयारी गरिएको सूचना अधिकारी आचार्यले जानाए । उनका अनुसार सबै तयारी गत वर्ष नै गरिएको छ ।
नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । चितवनमा गैँडा गणना गर्न एक महिना र अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । चितवनमा गणनाका लागि आवश्यक सामग्री व्यवस्थापनको प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।
नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको छ ।
Comments