मंसिर २१ गते,बुटवल –बुटवल स्थित एक होटेलमा गोली चल्दा एक जना घाइते भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपाने चिउँडोमा गोली लागि घाइते भएका हुन् । घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
रुपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाका अनुसार गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु होटेलमा बसेको गोप्य सूचनाका आधारमा आइतबार बिहान नौ बजेतिर सादा पोशाकका दुईजना प्रहरी रेकी गर्न गई उनीहरु बसेको कोठामा चुकुल लगाइदिएर थप प्रहरी बल बोलाएको थियो ।
त्यसपछि कोठामा बसेका तस्करहरुले ढोका फोडेर प्रहरीको पेस्तोल खोसेर गोली चलाएको र सोही क्रममा न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले होटेलबाट न्यौपाने सहित लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा लिएको छ ।
तस्कर समुहका विरेन्द्रबहादुर सिंह भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । भागेका सिंहको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट एउटा खागसमेत बरामद गरेको छ ।
Comments