मंसिर २३ गते,विराटनगर – नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट मापन गरेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ।
मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्। दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन्।
जसमा साविकको उचाई भन्दा ०.८६ मिटर बढेर हाल ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
२ वर्षअघि सुशिल डंगोलको संयोजकत्वमा नापी विभागका दुई अधिकारीहरुको संलग्नतामा गठन भएको सगरमाथा मापन सचिवालय टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।
सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए।
सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो।
सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो। सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।
नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो। सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए। उनीहरूले पनि भू-उपग्रहण प्रणाली र राडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरेका थिए।
गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।
Comments