मंसिर २३ गते,विराटनगर – मंगलबारबाट युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका अन्तिम खेल सुरु हुँदैछन्।
केही टिमले समूह चरणको अन्तिम खेलअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् भने केही टिमका लागि अन्तिम खेल निर्णायक बन्दैछन्। यस्तै समूह चरणको अन्तिम खेलबाट समूह विजेता र उपविजेता पनि टुंगो लाग्दैछ। सिजनको समूह चरणको अन्तिम खेल मध्ये स्पेनिस महारथी बार्सिलोना र इटालियन च्याम्पियन युभेन्ट्सबीच मंगलबार राति हुने खेल बहुप्रतिक्षित छ।
किनभने बार्सिलोनाका फरवार्ड लिओलन मेसी र युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुई वर्ष भन्दा बढी समयपछि एकअर्काविरुद्ध भिड्दैछन्। सन् २०१८ मा रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटाली लागेपछि दुई खेलाडी आमनेसमाने भएका थिएनन्।
यो सिजनको च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स एउटै समूह ‘जी’, मा परेपछि पहिलो लेगमा दुई खेलाडी आमनेसमाने हुने विश्वास गरिएको थियो।
तर कोरोना भाइरसको संक्रमण भएपछि रोनाल्डोले खेल्न सकेनन्। सो खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको थियो।
अन्तिम खेलअघि बार्सिलोनाले १५ अंक जोडेर नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। बार्सिलोनाविरुद्धको बाहेक अरु सबै खेल जितेको युभेन्ट्सले पनि १२ अंक जोडेर अघिल्लो चरणमा स्थान बनाइसकेको छ।
अब मंगलबार राति पौने २ बजे बार्सिलोनाको मैदानमा हुने खेलपछि समूह विजेताको टुंगो लाग्नेछ।
मेसी र रोनाल्डो पछिल्लो पटक सन् २०१८ को मे मा आमनेसामने भएका थिए। अल क्लासिको भिडन्तको सो खेल २-२ गोलको बराबरीमा सकिएको थियो। सो खेलमा मेसी र रोनाल्डो दुवैले गोल गरेका थिए।
Comments