पौष १९ गते,विराटनगर – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ विजयी भएको छ ।
आइतबार भएको फाइनलमा साविकको विजेता विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो ।
प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।
खेलमा एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा एपीएफ अन्तिम दुईमा मात्र सिमित हुन पुग्यो ।
बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २/२ विकेट लिए भने संगिता राईले १ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले ५८ रनको ओपनिङ साझेदारी गरेका थिए ।
उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप- विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।
Comments