पौष २१ गते,विराटनगर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने तयारी गरेको छ ।
गत मंसिर ९ देखि १६ गते सम्म लिईएको परिक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको छ भने इन्ट्री कार्य जारी रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।
यस बर्षको कक्षा १२ को परिक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी भएका थिए । कोरोना भाइरस सक्रमण भएर गत मंसिर ९- १६ गते सम्म संचालन भएको परिक्षामा संलग्न हुन नपाएका विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म परिक्षा लिइँदैछ । यस पटकको परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन गरिने नियन्त्रक शर्माले जनाए ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने,‘सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्बर भरेको हुँदा उल्टोपाल्टो देखिएकाले इन्ट्री गर्ने काम ढिलो भएको छ । इन्ट्री सकिएलगत्तै रुजु गरिनेछ । सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुनेछ ।’
कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको थियो। सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ ।
Comments