डोर टु डोर मात्रै राहत वितरण

अर्को सूचना जारी नभएसम्म सुनसरी जिल्लाभरको लक डाउनमा पूर्ण रुपले कडाइ गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलले बताएका छन् । सम्भावित भिडभाडलाई मध्यनजर गर्दै औषधी पसल बाहेक सबै खाले सेवा तत्कालका लागि बन्द गरिएको उनले बताए । अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाभर लक डाउन कडा गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले उदयपुरमा कोरोना संक्रमित भेटिएकाले सुनसरीमा समेत सावधानी अपनाइएको बताए ।

अतिनै अत्यावश्यक अवस्था आएको खण्डमा नजिकको प्रहरीसँग समन्वय गर्न उनले सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । प्रहरीले विषम परिस्थितिको अवस्थालाई जिल्लावासीले सामान्य रुपमा लिइदिन समेत आग्रह गरेको छ ।

उनले कतिपय पालिकाहरुमा स्थानीय सरकारले लक डाउनको पालना गराउने सवालमा आफु अनुकुलका निर्णय गर्दै थप कडाइ गरिरहेको समेत बताए । यसैबिच सुनसरी प्रशासनले राहत वितरणमा हुने भिडभाडलाई मध्यनजर गर्दै डोर टु डोर मात्रै राहत वितरण गर्न सबै स्थानीय तहहरुलाई आग्रह समेत गरेको छ ।प्रशासनले मस्जिदमा बस्नेहरु सबैलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । ८१ वटा मस्जिद रहेको सुनसरीमा कोहीपनि आश्रय लिई बसेको भन्ने जानकारीमा नरहेको प्रशासनले जनाएको छ । लुकिछिपी बसेको भेटिए कार्वाही गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *