२५ वर्षको अन्तरमा सिनेमा निर्माणको प्राविधिक पाटोमा आकाश जमिनको फरक

भूषण दाहाल निर्देशित चलचित्र ‘कागबेनी र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ निर्माण एवं प्रदर्शनसँगै नेपाली चलचित्रले ‘डिजिटल यात्रा’मा नयाँ मोड लियो ।

सन् २००८ ताका निर्माण भएका ती चलचित्रमा प्रयोग भएको डिजिटल प्रविधिले नेपाली सिनेमा उद्योग थप व्यावसायिक र व्यवस्थित भएको चलचित्रकर्मीहरूको ठहर छ । डिजिटल प्रविधिको प्रयोगले सिनेमाको संख्यासँगै गुणस्तर पनि बढेको बताउँछन्, निर्देशक अशोक शर्मा । भन्छन्, ‘डिजिटल उपकरण आउनुअघि यहाँ वार्षिक २५र२६ वटामात्र सिनेमा बन्थे । तर, अहिले सयभन्दा धेरै बन्न थालेका छन् ।’

२५ वर्षको अन्तरमा सिनेमा निर्माणको प्राविधिक पाटोमा आकाश जमिनको फरक आएको निर्देशक दीपेन्द्र के खनालको अनुभव छ । ‘सिनेमामा संकटकाल लगाउन ठिक्क भएका बेला डिजिटल प्रविधिको प्रयोगले फिल्मको स्तरसँगै आशा पनि बढाइदियो’ दीपेन्द्रले भने ।

नेपाली सिनेमा निर्माणको सुरुवातदेखि डिजिटल यात्रा सुरु हुनुसम्मको अवधि निकै चुनौतीपूर्ण र कष्टकर थियो । डिजिटल प्रविधि सुरु हुनुअघि र पछिको समयलाई गहिरो अनुभव गरेका सिनेमाटोग्राफर दीपक बज्राचार्य भन्छन्, ‘पुरानो प्रविधिमा निर्देशक पूर्णरूपमा सिनेमाटोग्राफरको भर पर्नुपथ्र्यो, तर अहिले त्यस्तो छैन ।’

पुरानो प्रविधिमा सिनेमा

पुरानो प्रविधिमा सेल्युलोइड क्यामेरामार्फत नेगेटिभमा सिनेमा खिचिन्थे । सिनेमाटोग्राफर बज्राचार्यका अनुसार नेगेटिभमा खिचिएका फिल्मलाई सुरुमा एक्सपोज गर्नुपथ्र्यो । पछि डेभलप गरेर प्रिन्ट निकालिन्थ्यो । पहिलो पटक वर्क प्रिन्ट निस्कन्थ्यो । त्यसैको आधारमा सम्पादन गरिन्थ्यो । त्यसपछि मात्र थिएटरमा हेर्न लायकको फाइनल प्रिन्ट निकालिन्थ्यो ।

त्यो बेला फिल्म नबनेसम्म खिचेको सही आयो कि आएन भनेर थाहा हुँदैनथ्यो । ‘यहाँ भिडियो असिस्ट भएको मोनिटरमा हेर्न मिल्ने क्यामेरा थिएन । त्यहीँ भएर निर्देशक पूर्णरूपमा सिनेमाटोग्राफरमा भर पर्नुपर्ने हुन्थ्यो’, बज्राचार्य भन्छन् ।

सुरुमा ३५ एमएममा भिडियो खिचिन्थ्यो । पछि निर्देशकहरूले १६ एमएममा खिच्न थाले । आधा साइज हुने बित्तिकै बजेट पनि आधा घट्ने निर्माताहरूको अनुमान थियो । तर, यसले फिल्मको दृश्य झन् बिग्रिएर आउन थाल्यो । फिल्म निर्माण मात्र नभई प्रदर्शनमा पनि उत्तिकै कठिनाइ हुन्थ्यो । सबै हलमा एउटै फिल्म एकैपटक प्रदर्शन गर्न मिल्दैनथ्यो ।

निर्देशक शर्माका अनुसार फिल्मको प्रिन्ट बनाउनकै लागि १०र१२ लाख रुपैयाँ खर्च हुन्थ्यो । त्यतिबेला २र३ देखि बढीमा ५ सम्म सिनेमाको रिल प्रिन्ट बनाइन्थ्यो । त्यही रिललाई क्यारिङ गर्नुपथ्र्यो । काठमाडौंमा २ वटा रिल राखिन्थ्यो भने बाहिर २ वटा पठाइन्थ्यो ।

‘एकैचोटि चलचित्र प्रदर्शन गर्न नपाउँदा समयमा लगानी उठ्दैनथ्यो’, शर्मा भन्छन्, ‘त्यतिबेला रिलबाट चक्का घुमाएर फिल्म देखाउने चलन थियो । रिल चुँडिने, कोरिने पनि समस्या हुन्थ्यो । हामी आफैं कम गुणस्तरमा फिल्म बनाइरहेका थियौं ।’ त्यतिबेला सिनेमाको ध्वनि पनि कर्णप्रिय र आकर्षक हुँदैनथ्यो । किनभने आवाज टेपमा रेकर्ड गरेर प्ले गरिन्थ्यो ।

क्यामेराले ल्याएको परिवर्तन

सन् २००८ सालतिर निर्देशक दीपेन्द्र के खनालले जापानबाट नेपाल आउँदा एचडी क्यामेरा ल्याएका थिए । त्यतिबेलासम्म नेपालमा फिल्म सेल्युलोइडमै बनाइन्थे । जब उनले पहिलो फिल्म डिजिटल एचडीमा बनाए, तब ठूलो चुनौतीको पनि सामना गर्नुपर्‍यो । उनीसँगै त्यस छिमलका नयाँ निर्देशकहरू डिजिटल प्रविधिकै कारण बहिष्कारमा परे । ‘मैले एचडी क्यामेराले खिचेको फिल्मलाई सानो फिल्म भनियो । सिनेमा बिगार्ने प्रविधि ल्यायो भनियो,’ उनले सम्झिए ।

नेपाली सिनेमाहरू लगातार घाटामा जान थालेपछि निर्देशक अशोक शर्मा पनि उपायको खोजीमा थिए । ‘विदेशी सिनेमाको अघि हाम्रो सिनेमाको अस्तित्व नै नरहने भयो । प्रविधिलाई परिवर्तन नगरिकन विकल्प छैन भन्ने भयो । त्यसपछि हामीले सन् २००८ तिर डिजिटल टेक्नोलोजीलाई भित्र्यायौं । तर, अन्य चलचित्रकर्मीहरूले स्वीकार गरेनन्,’ शर्मा सम्झन्छन् ।

त्यतिबेला सेल्युलोइडलाई डिजिटलले विस्थापित गर्न सक्दैन भन्ने आवाज पनि उठ्यो । प्रविधिका विषयमा ठूलै बहस भयो ।

निर्देशक खनालले उक्त बहसलाई नयाँ र पुरानो पुस्ताको द्वन्द्वका रूपमा लिए । ‘पुराना मेकर सेल्युलोइडमै फिल्म बनाउँथे । हामी डिजिटल प्रविधिको प्रयोग गर्न थाल्यौं’ उनी भन्छन्, ‘आपसी ईगोका कारण पनि द्वन्द्व बढेको थियो ।’

रिलमा खिच्दा जुन डेप्थ आउँछ त्यो डिजिटलमा आउँदैन भन्ने सेल्युलोइडमा काम गरिरहेका धेरैको मान्यता थियो । ‘यसमा केही सत्यता पनि थियो । किनभने, त्यो बेला डिजिटल प्रविधि पनि निर्माणकै क्रममा थियो,’ उनी भन्छन् ।

प्रविधिलाई डिजिटल बनाउनका लागि क्युएफएक्स सञ्चालक तथा फिल्म निर्माता नकिम उद्दिन, भाष्कर ढुंगाना, राजेश सिद्धीलगायतको भूमिका थियो । ‘फिल्म खिच्नदेखि हललाई समेत डिजिटलाइज्ड गर्न हामीले ठूलो मेहनत गरेका छौं । क्युएफएक्सको पहिलो मल्टिप्लेक्स पनि हामीले नै सञ्चालन गरेका हौं,’ सञ्चालक नकिम उद्दिन भन्छन् ।

रिलबाट हलमा फिल्म देखाइने झन्झटिलो प्रक्रियालाई नै उनीहरूले परिवर्तन गर्न खोजे । यसका लागि हलमा डिजिटल सिस्टम राखियो । निर्देशक शर्मामा अनुसार २र४ वटा हलमा सम्झाई बुझाई गरेर आधुनिक सिस्टम राखिएको थियो । तर, डिजिटल सिस्टममा देखाउने फिल्म नहुनाले झन् चुनौती थपियो । ‘सेल्युलोइडमा फिल्म बन्थ्यो ।

त्यसलाई डिजिटलमा कन्भर्ट गर्न कोही नमान्ने । अब प्रोडक्सननै डिजिटलमा गरेपछि मात्र डिजिटलमै बन्ने र डिजिटलमै देखाउने काम हुनसक्छ भनेर हामीले विदेशबाट क्यामेरालगायत उपकरण ल्यायौं,’ शर्मा भन्छन् । त्यसिबेलै डिसिएन कम्पनीमार्फत नेपालमा एसआई टुके नामक डिजिटल क्यामेरा भित्रिएको हो ।

डिजिटल क्यामेरामार्फत काम गर्न नचाहेका प्रोडुसरहरूलाई बुझाउनु कम्ता मुस्किल थिएन । ‘डिजिटलमा फिल्म बनाउनेलाई फिल्मको वितरण हामी गर्छौं र पैसा पनि दिन्छौं भनेर एउटा प्रोडुसरलाई ४० लाख एड्भान्स पनि दियौं । अनि बल्ल केही निर्माता तयार हुनुभयो,’ शर्मा सम्झन्छन् ।

त्यसलगत्तै बनेका दुई फिल्म ‘कागबेनी’ र ‘सानो संसार’ले नेपाली सिनेमाको प्राविधिक पाटोको गुणस्तरमा धेरै सुधार ल्याए । त्यसपछि भने नयाँ प्रविधिप्रति अन्य प्रोडुसरको पनि ध्यान खिचियो ।

‘लुट’, ‘चपली हाइट’जस्ता चलचित्र व्यावसायिक रूपमा सफल भइसकेपछि डिजिटल प्रविधिको प्रभाव बढ्दै गयो । संकटकाल लाग्नै आँटेको बेला डिजिटल प्रविधिमा बनेको फिल्मले उद्योगलाई चलायमान बनायो । ‘चारपाटे र किरमिर भिडियो हेरिरहेका दर्शकलाई सफा स्क्रिन देख्दा छुट्टै आनन्द आयो,’ दीपेन्द्र भन्छन् ।

त्यसलगत्तै नेपालमा रेडको ‘फो के’ क्यामेरा भित्रियो । त्यसपछि ‘सिक्स के’ आयो । पछिल्लो समय दीपेन्द्रले ‘आमा’ फिल्मको निर्माणमा एट–के क्यामेराको प्रयोग गरे । ‘अहिलेसम्म आउँदा नेपाली चलचित्र क्षेत्रमा क्यामेरा मात्र नभई लेन्स वा अरू धेरै राम्रा उपकरण हामीसँग छन् । मैसँग हलिउड बलिउडमा खिच्ने क्यामेराको हाइयन सेट छ,’ दीपेन्द्र भन्छन् ।

डिजिटल प्रविधिका कारण सिनेमा हलमा पनि निर्माताको लगानी कम हुँदै गयो । ‘१०र१२ लाख रुपैयाँ रिल प्रिन्टमै खर्च हुन्थ्यो । डिजिटल प्रविधिमा त प्रिन्ट खर्चै भएन । धेरै हलमा एकै पटक फिल्म चलाउन पनि सकिने अवस्था आयो,’ शर्मा भन्छन्, ‘रिलको कारण फिल्मको व्यापारलाई पनि असर गरेको थियो । अहिले २२ करोडसम्म फिल्मको व्यापार हुन्छ ।’

सिनेमाटोग्राफर बज्राचार्यका अनुसार सेल्युलाइड फम्र्याटमा खिचेको अन्तिम नेपाली चलचित्र ‘गुडबाइ काठमाडौं’ हो । अहिले विश्वमा नै सिनेमा मेकिङ डिजिटल प्रविधिबाट हुन्छ । तर, हलिउड, बलिउडमा केही निर्देशकले भने अझै नेगेटिभमा खिच्ने गरेको पाइन्छ ।

साउण्डमा कम सुधार

पहिले फिल्मको आवाज ‘मोनोमा’ प्ले हुन्थ्यो । जसकारण फिल्मको ध्वनि कर्कश सुनिन्थ्यो । तर, डिजिटल प्रविधि भित्रिएपछि ५।१ साउण्ड सिस्टममा अभ्यास हुन थाल्यो । विस्तारै टेप विस्थापित भयो । कम्प्युटरमै आवाज रेकर्ड हुन थाल्यो । सिनेमा क्षेत्रका क्रियाशील साउण्ड इन्जिनियर अमृत श्रेष्ठ ध्वनि कम्प्युटरको हार्डडिस्कमै रेकर्ड हुन थालेपछि काम गर्न सहज भएको बताउँछन् । ‘पहिला लामो लामो गीत एकैपटक गाउनुपर्ने हुन्थ्यो । अहिले टुक्रा गरेर गाउन मिल्छ । डबमा पनि मिक्सिङ गर्ने, आवाज डिजाइन गर्ने धेरै टेक्नोलोजी जोडिएको छ । अहिले ५।१ मा काम गरिरहेका छौं । यसले पनि राम्रोसंग मनोरञ्जन क्रियट गर्न सक्छ,’ उनी भन्छन् ।

यद्यपि, रेकर्डिङमा प्रशस्त काम हुन अझै बाँकी रहेको साउण्ड इन्जिनियर प्रदीपकुमार उपाध्यायको ठम्याइ छ । उनका अनुसार साउण्डसम्बन्धी प्राविधिक ज्ञानमा कमी छ । प्रोडुसर तथा फिल्ममेकरहरूले फिल्ममा साउण्डलाई पहिलो प्राथमिकतामा नराखेकै कारण सुधार हुन नसकेको उनको ठम्याइ छ । ‘फिल्म कला पक्षलाई मात्र ध्यान दिएर लेखिन्छ । प्राविधिक पक्षलाई ख्याल गरेर लेखिएको देखिन्न । तर, जब दुवै पक्षलाई ध्यान दिएर फिल्म लेखिन्छ तब राम्रो हुन्छ,’ उपाध्याय भन्छन् ।

निर्देशक खनाल पनि साउण्डको पक्षमा नेपाली सिनेमा कमजोर भएको स्वीकार गर्छन् । ‘बलिउड र कलिउडको साउण्डमा धेरै अन्तर छ’, नेपालको साउण्ड सुन्यौं भने धेरै नै फरक पाउँर्छौं । हाम्रो साउण्ड मौलिक हुन नसक्नुको पछाडि डिजाइनमा समस्या भएर हो,’ उनी भन्छन्, ‘साउण्ड डिजाइनमा आफ्नै मौलिक बाजा प्रयोग गरेर गर्नलाई समय चाहियो, प्राविधिक चाहियो । हाम्रोमा त्यो कुराको अभाव छ ।’

साउण्ड इन्जिनियर श्रेष्ठ यो पेसा प्रोफेसनल बन्न नसक्नु नै ठूलो समस्या भएको बताउँछन् । प्राविधिक पाटोलाई खासै प्राथमिकता नदिएको उनको अनुभव छ । भन्छन्, ‘फिल्म मेकिङमा प्राविधिकसँग छलफल नै हुँदैन’, उनी भन्छन्, ‘हाम्रोमा इस्पेसलाइजेसन कम छ । सबै काम आफैं गर्नुपर्छ । डिपार्टमेन्ट नै एक्लै हेर्नुपर्ने हुन्थ्यो । यसै कारण सिर्जनात्मक हुन सकेन ।’

चुनौतीपूर्ण डिजिटल यात्रा

सिनेमा उद्योगको २५ वर्षे यात्रामा प्रविधिले धेरै सहजता थपिदिएको निर्देशक मनोज पण्डितको बुझाइ छ । हिजोको समयमा सीमित वर्गको हातमा मात्र पुग्ने सिनेमा प्रविधि अहिले सामान्य व्यक्तिको हातमा पुगेको उनी बताउँछन् । ‘पहिले क्यामेरका लागि प्रकाशको धेरै आवश्यकता पथ्र्यो । प्राविधिकको टिम पनि ठूलो हुन्थ्यो । तत्कालीन अवस्थामा सामान्य मानिसमा पुग्दैनथ्यो’ पण्डित भन्छन्, ‘सिनेमा सीमित वर्गको रुचि र हातमा मात्र बन्थ्यो । त्यसले गर्दा वर्गहरूको रुचिसँगै नाफामूलक हुन्थ्यो । दक्षताको आधारमा मनोमानी हुन्थ्यो ।’

तर, समीक्षक अनुप सुवेदी प्रविधिको विकासले सिनेमाको गुणस्तर बढेको कुरामा स्वीकार गर्दैनन् । ‘नयाँ क्यामेरा र प्रविधि त आयो, तर त्यो प्रविधिलाई कति सिर्जनशील तरिकाले चलाएका छौं तरु’ समीक्षक सुवेदी प्रश्न गर्छन् ।

उनी नेपाली सिनेमाको बजार बढेको स्वीकार गर्दैनन् । भन्छन्, ‘अझै तराईको ठूलो भागमा नेपाली सिनेमा चल्दैनन् । महेन्द्र राजमार्ग आसपास र काठमाडौंमा मात्र यसको बजार छ । प्रविधिले बजारमा खासै प्रभाव पारेन ।’

निर्देशक खनाल पनि अहिले पर्याप्त प्राविधिक समान भए पनि त्यसको परिणाम भने सन्तोषजनक नभएको स्वीकार गर्छन् । यसको पछाडि प्राविधिक पक्षमा नयाँ जनशक्ति नभित्रिनु नै समस्या रहेको उनको ठम्याइ छ । ‘निर्देशनको पाटोमा यसपालि ५० भन्दा बढी नयाँ निर्देशकले फिल्ममा डेब्यु गरे । निर्माता, कलाकार पनि आफैं निर्देशन गर्छु भनेर होमिरहेका छन् । तर, प्राविधिक पाटोमा सिनेमाटोग्राफर तथा एडिटर बन्छु भनेर कोही आउँदैन । नेपाली चलचित्रले प्राविधिक पाटोलाई जहिले पनि हेला गर्छ,’ खनालको बुझाई छ ।

नेपालमा भित्रिएको प्रविधिको पनि दुरुपयोग भएको सिनेमाटोग्राफर बज्राचार्यको ठम्याइ छ । ‘जब पहिलो पटक नेपाली फिल्ममा ड्रोन भित्रियो । हरेक फिल्ममा ड्रोनका दृश्य देखिन थाले । यति रिपिट भयो कि हेर्दा पनि दिक्क लाग्न थाल्यो,’ उनी भन्छन् । बज्राचार्यका अनुसार जति सुकै नयाँ सामग्री प्रयोग गरे पनि त्यसले दर्शकलाई तान्न सकेन भने त्यसको केही अर्थ हुँदैन ।

प्रविधि छ, गुणस्तरीय सिनेमा छैनन् : अनुप सुवेदी

डिजिटल माध्यमले फिल्म मेकिङलाई प्राविधिक रूपमा सजिलो बनायो । जसले गर्दा फिल्मको संख्या पनि बढ्यो । पहिलाजस्तो प्रोसेसका लागि मुम्बई वा अन्य सहर जानुपर्ने अवस्था भएन ।

क्रमशस् प्रोडक्सन मोडमा अलिकति परिवर्तन आएको देखियो । वर्षमा ३०र४० वटा फिल्म बन्दा भयानक उपलब्धि मानिन्थ्यो । अहिले १ सयवटा बनिरहेका छन् । यो संख्यात्मक रूपमा वृद्धि भएर धेरै जना प्राविधिकले काम पाउनु सुखद् कुरा हो । तर, बजार बढ्यो कि बढेन भन्ने कुरा कसरी हेर्ने भन्ने संकट छ । हामीसँग डाटा छैन । बजारको कमाइ हेर्दा अहिले पनि काठमाडौंको बजार ६० प्रतिशत हो । २०५० सालमा कति संख्याले हेर्थे र अहिले कतिले सिनेमा हेर्छन् भनेर हेर्ने हो भने बजारको स्थिति निराशाजनक देखिन्छ । तर, मूल्य बढेको र मल्टिप्लेक्समा उच्च मूल्यले गर्दा फिल्मको कमाइ सहरमा बढेको छ । गाउँगाउँमा भने घटेको छ ।

सारमा देशभित्र फिल्मको बजार बढेको छैन । तराईको ठूलो भागमा अहिले पनि नेपाली फिल्म चल्दैनन् । महेन्द्र हाइवेका सहरहरूमा मात्र चल्ने हो । बरु डायस्पोरा मार्केटले केही राहत भएको छ ।

क्यामेरा प्रविधि त आयो, तर त्यो प्रविधिलाई कति क्रियटिभ्ली चलाएका छौं रु प्रश्न उठ्छ । खासगरी प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति पनि छैनन् । जस्तै स् प्रोडक्सन डिजाइन । सेट डिजाइन, कास्टिङ डिरेक्टर । यस्तो खालको कुरामा अझै पनि जनशक्ति छैन । साउण्ड डिजाइन पनि छैन । भएका पनि परम्परागत छन् । कन्टेन्ट पनि कमजोर छ । २५ वर्षको यात्रा भनेको हिँड्दैछ, पाइला मेट्दैछ भनेजस्तै हो । प्रभावकारी साउण्डका लागि नेपालमा गुणस्तर स्टुडियो पनि छैन । साउण्डलाई कसरी प्रयोग गर्ने भनेर डिजाइन गर्ने मान्छे नै छैन ।

पहिलो पटक डिजिटल यात्राको थालनी गर्‍यौं : नकिम उद्दिन

सन् २००२ जुलाइमा हामीले जय नेपाल हल सञ्चालन गर्‍यौं । राजेश सिद्धी, भाष्कर ढुंगाना र मलगायतका पार्टनर थियौं । एउटा हलले नपुग्ने भएपछि हामीले कुमारी हल भाडामा लियौं । त्यतिबेला थुप्रै नेपाली निर्माता नेपाली फिल्म हलमा चलाउनु पर्‍यो भनेर आउनुभयो । तर, त्यतिबेलाका नेपाली फिल्म हलमा चल्न लायकका थिएनन् । जय नेपालको टिकटको रेट १ सय ७५ थियो । १ सय ७५ तिरेर नेपाली फिल्म हेर्न आउनेको संख्या थिएन । हामीले धेरैलाई ‘नाइँ’ भन्यौं ।

नेपाली फिल्म नेपालका हलमा चल्न लायकको त बनाउनुपर्छ भन्ने लाग्यो । सुरुमा हामीले डिजिटल प्रविधिमै फिल्मलाई वितरण गर्ने तरिका खोज्यौं । पहिलोपटक टुके क्यामेरा ल्याएर ‘कागबेनी’ खिच्यौं । त्यसपछि लगत्तै फिल्म‘नयाँ संसार’ निर्माण गर्‍यौं ।

नेपाली सिनेमामा पहिलोपटक सबै डिजिटल प्रविधिको प्रयोग गरेको हामीले नै हो । त्यसपछि अरू निर्माता साथीलाई पनि डिजिटल प्रविधिमार्फत काम गर्न कन्भिन्स गर्न थाल्यौं । त्यसपछि ‘डिजिटल सिनेमा नेपाल’ भन्ने कम्पनी बनायौं । त्यसको नेतृत्व अशोक शर्माले गर्नुभयो । हामीले नै क्युएफएक्सको पहिलो मल्टिप्लेक्स सिभिल मलमा खोल्यौं । त्यसपछि ललितपुर विशाल बजारमा सिनेमा हल थपेर लविङ मल बनायौं । अहिलेसम्म नेपालमा १२ ठाउँमा पर्दासहितको क्युएफएक्सको संरचना निर्माण गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *